कोरोनाबाट नेपालमा १३ पत्रकारको मृत्यु, ७ सय ५० लाई संक्रमण
काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट आइतबारसम्म १३ जनाको पत्रकारको मृत्यु भएको छ भने सात सय ५० जना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार शनिबार राति च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको छ । काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ३४ वर्षीय कार्कीको शनिबार राति ८ बजे मृत्यु भएको महासंघले जनाएको छ। कोरोना संक्रमण भएपछि १४ दिनदेखि उपचाररत उनलाई २३ वैशाखदेखि भेन्टिलेटरमा राखिएको थियो । त्यस्तै, शनिबार नै नेपालगञ्जमा कार्यरत पत्रकार रईश शाहीको मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका शाहीको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
यी दुवै सहित अहिलेसम्म १३ पत्रकारले कोरोनाबाट ज्यान गुमाएको महासंघका महासचिव रोशन पुरीले जनाएका छन् । महासंघका अनुसार अहिलेसम्म सात सय ५० जना पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । उनीहरूमध्ये केही निको भएको र केहीको उपचार चलिरहेको महासंघले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको जनाउँदै सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर पेशागत कर्ममा जुट्न महासंघले पत्रकारलाई अपील गरेको छ ।