एनआरएनए यूकेको पहलमा सवा करोड बराबरको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् । हिजो शनिबार साँझ नेपाली दूतावास लण्डनको संयोजनमा एउटा भर्चुअल मिटिङ गरेर यूकेस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपाललाई तत्काल सहयोग गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ बराबरको १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने प्रतिबध्दता अनि घोषणा गरेका छन् ।

करिब १ सय भन्दा बढी स्थानीया संघसंस्थाहरुका प्रतिनिधीहरुको सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने जानकारी गराउनुभएको थियो । उहाँले नेपालमा हाल कोभिड उपचारको लागि अत्याबश्यक उपकरण मध्ये एक अक्सिजन कन्सन्ट्रेटर पठाउन सके प्रभाबकारी हुने कुरा जानकारी गराउनुहुँदै यसै अनुरुप गैरआवासीय नेपाली संघ यूके र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो । राजदुत रेग्मीले यस् अघिको बैठकमा प्रतिबध्दता गरे अनुरुप यदि गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट धेरै मात्रामा अक्सिजन कन्सरट्रेसर किनेमा उक्त सामाग्री नेपाल पठाउन आवश्यक हवाई चार्टड राजदुताबासले गर्ने कुरा पुन दोहोर्याउनुभयो ।

त्यस्तै एनआरएनए आइसिसीको महासचिव डा.हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन सके प्रभाबकारी हुने कुरा बताउनुभयो र विदेशमा संकलित सहयोगलाई नेपाल पुर्याउन एनआरएनए आइसिसीले आवश्यक सहयोग गर्ने बताउनुभयो । गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताउनुभयो । उहाँले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैले कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले नेपालमा खोप लैजान सबै पक्षलाइ अआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नुभयो । गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ्गले महाभूकम्पको वेलामा वेलायतवासी नेपालीले जसरी ऐक्यवद्ध भएर सहयोग गर्यौ, त्यसरी नै अहिलेको स्वास्थ्य संकटमा पनि सहयोग गरौ भनी अनुरोध गर्नुभयो ।

त्यस्तै गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सीनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताउनुभयो । संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेकोले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सदस्यहरुले नेपालमा तुरुन्तै सहयोग गर्नुपर्ने अवस्था भएकोले जेजती वा जसरी सकिन्छ खोपदेखी अन्य स्वास्थ्य सामाग्रीहरु यथाशिघ्र पठाउनुपर्ने र यसका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने कुरा सुझाउनुभएको थियो । बेलायतमा प्राप्त सहयोगहरु आगामी दुई साताभित्र नेपाल पठाउने तयारी एनआरएनए यूकेले गरेको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गर्नुभएको थियो ।