पहिलाे पटक एफए कपकाे उपाधि जित्ने लक्ष्यमा लेस्टर, चुनाैती चेल्सीकाे

लण्डन । एफए कपको उपाधिका लागि आज चेल्सी र लेस्टर सिटी आमने सामने हुँदैछन । यो खेल नेपाली समय अनुसार राती १० बजेबाट (यूके समय- ५:१५ साँझ) वेम्बली रंगशालामा सुरु हुनेछ । च्याम्पियन्स लिगको फाइनलको तयारी अगाडी चेल्सीले एफए कपको उपाधि उचाल्ने लक्ष्यका साथ आज लेस्टरको चुनौती लिदैछ । आजको खेलमा चेल्सीका माटियो कोभासिस फिट भएर मैदानमा फर्किनेछ । उनी मांशपेशीको चोटका कारण पाँच साता मैदान बाहिर रहे । यस्तै कोन्टेले पनि आजको खेल खेल्ने बताइएको छ । यस्तै गोलकिपर केपापनि यो खेलका लागि फिट रहेको बताइएको छ ।

लेस्टरका डिफेन्डर जोनी इभान्सको फिटनेस आजको खेलमा मुख्य रहेको छ । प्रिमियर लिगमा अघिल्लो खेलमा आर्सनलसँग पराजित भएको चेल्सीले सो खेलमा सात जना खेलाडीलाई आराम दिएको थियो । जसका कारण उसले हारको सामना गर्नुपर्यो ।

लेस्टरविरुद्ध एफए कपमा खेलेका सातै भिडन्तमा चेल्सी विजयी भएको छ । त्यसमा दुई खेल बराबरी भएपछि फेरी खेलाउँदा चेल्सीले नै बाजी मारेको थियो । यो खेलमा सिमित दर्शकलाई मैदानमा प्रवेश पनि गराइनेछ । चेल्सी एफए कपको फाइनलमा पुगेको यो पछिल्ला पाँच सिजनमा चौथो पटक हो । सन् २०१८ मा म्यानचेस्टर युनाइटेडलाई हराउँदै उपाधि जितेको चेल्सी सन् २०१७ र २०२० मा आर्सनलसँग पराजित भएको थियो । समग्रमा चेल्सीको यो १५ औं एफए कप फाइनल हो । उसले आठ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।

यता लेस्टर पहिलो पटक एफए कपको उपाधि उचाल्ने लक्ष्यमा छन । प्रिमियर लिगका शिर्ष डिभिजन खेल्ने क्लवमा एफए कप नजित्ने एक्लो क्लव लेस्टर रहेको छ । त्यसैले पनि उसले यो पटक नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ ।