कोरोना फैलिने डरले चीनद्वारा सगरमाथा आरोहण स्थगित
एजेन्सी । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो । नेपालमा कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले उत्तरी मोहडाबाट वसन्त यामको सगरमाथा आरोहण रद्द गरेको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा संक्रमण बढेकाले चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथा आरोहण रद्द गरेको जनाएको छ । चीनको खेलकुद प्रशासनले शुक्रबार सूचना प्रकाशित गरेर सगरमाथा आरोहण रद्द गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले पनि जनाएको छ ।
कोरोना महामारीसँग जोगिनका लागि यो कदम चालिएको समाचारमा उल्लेख छ । केही समयअघि नेपालबाट सगरमाथा आरोहणमा गएका आरोहीमा पनि संक्रमण देखिएको समाचार आएको थियो । सगरमाथा आधारशिविरबाट फर्केका स्थानीय बासिन्दामा पनि संक्रमण देखिएको थियो । चीनले यो सिजनमा सगरमाथा आरोहणका लागि ३८ जनालाई अनुमति दिएको थियो। ती सबै चिनियाँ नागरिक हुन् ।
नेपालले भने सगरमाथा आरोहणका लागि चार सय आठ जनालाई अनुमति दिएको छ। उनीहरूमध्ये एक सय ६० जनाभन्दा बढीले आरोहण गरिसकेका छन्। सगरमाथा आरोहणका क्रममा दुई जनाको ज्यान गएको छ । सगरमाथा आरोहणका लागि यो समय सबैभन्दा राम्रो मानिन्छ । वसन्त याममा सबैभन्दा बढी सगरमाथा आरोहण हुने गर्छ ।
यस पटक भने कोरोनाको त्रास यथावत् छ। गत वर्ष कोरोना महामारीका कारण नेपालले सगरमाथा लगायत हिमाल आरोहण स्थगित गरेको थियो । यो वसन्त याममा भने कोरोना जोखिमलाई बेवास्ता गर्दै सगरमाथा लगायत अन्य हिमाल आरोहणका लागि सरकारले अनुमति दिएको छ ।
यो याममा २५औं पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । त्यस्तै, बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफाले पनि नेपालतर्फबाट सगरमाथा आरोहण गरेका छन् । अन्य आरोही पनि सगरमाथा आरोहणको प्रयासमा छन् ।