काठमाडौं रेजर्स एनएसएलको पहिलो संस्करणको च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सलले जितेको छ । फाइनलमा धनगढी एफसीलाई एक शुन्यले हराउँदै प्रतियोगिताको च्याम्पियन बन्यो । दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा विदेशी स्ट्राइकर मेसौकेको एकमात्र गोल निर्णायक बन्यो । खेलको सुरुवाती २० मिनेटमा दुबै टिमले डरलाग्दो आक्रमण बनाउन सकेनन् । दुबैले केहि मौका पाएपछि सबै प्रहार पोष्ट भन्दा निकै बाहिर रहे । तर खेलको २२ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता लियो । उसका लागि मेसौकेले गोल गर्न सफल भए । उनले धनगढीका दुई जना डिफेन्डरविचबाट आएको बललाई गोलमा परिणत गरे । जारी प्रतियोगितामा उनको यो आठौं गोल हो ।

खेलको २९ औं मिनेटमा मेसौकेको फ्रिकिक प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ३० औं मिनेटमा छिरिङ गुरुङले पाएको बललाई प्रहार गर्दा पोष्टमा रहन सकेन । पहिलो हाफको इनजुरी समयमा काठमाडौंले अन्तर दुई शुन्यमा पुर्याउने निकै राम्रो मौका पाएका थिए । धनगढीका डिफेन्डर अशोक खवासलाई विट गर्दै मेसौकेले प्रहार गरेको बल पोष्टको माथिबाट बाहिरीयो । पहिलो हाफमा काठमाडौंले कुल सात वटा पोष्ट चार्ज गर्दा एक गोल गर्न सफल भयो । यता काठमाडौंले पहिलो हाफमा मात्र तीन वटा प्रहार गर्न सक्यो ।

पहिलो हाफमा एक गोलले पछि परेको धनगढीले दोस्रो हाफका सुरुवातमा नै उत्कृष्ट मौका गुमायो । धनगढीका बुद्धबल तामाङले पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । उनले हेडरपछि पाएको अर्को मौकालाई काठमाडौंका फ्लोरेन्टले गोललाइन नजिकैबाट बचाए । ५२ औं मिनेटमा पुजन उपरकोटीले प्रहार गरेको कर्नरबललाई बुद्धबल तामाङले आत्मसाथ गर्न सकेनन् । त्यसपछि ५४ औं मिनेटमा निशान खड्काको पासमा विशाल राईले डिबक्स भित्रबाट गरेको हेडर प्रयासले सहि दिशा दिन सकेन । ५५ औं मिनेटमा अशोक खवासको लामो प्रहारलाई काठमाडौं गोलकिपर बिकेश कुथुले बचाए ।

खेलको ६५ औं मिनेटमा स्टेफेन बिनोङले डिबक्स भित्रबाट प्रहार गरेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
७५ औं मिनेटमा काठमाडौंका मेसौकेको लामो प्रहार क्रसबारमा लागेर बाहिरीँदा अन्तर दुई शुन्यमा पुर्याउने सुनौलो मौका खेर फाल्यो । ८२ औं मिनेटमा धनगढीले सब्सिच्युट खेलाडी टंक बस्नेतले डिबक्समा गरेको हेडको प्रयासलाई काठमाडौंका डिफेन्डरले विफल पारे । ८८ औं मिनेटमा पुजन उपरकोटीको लामो दुरीको सट पोष्टको नजिकैबाट बाहिरीयो । जसका कारण उसले अर्को अवसर खेल फाल्यो । ९० औं मिनेटमा काठमाडौंले अर्को उत्कृष्ट मौका खेर फाल्यो । उसका स्टेफान बिनोङले सशक्त प्रहारलाई किरणले बचाए ।

त्यसपछि धनगढीले खेलमा फर्कन हरेक प्रयास गर्दा सफल भएन र पराजित भये । योसँगै काठमाडौंले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदलापनि लिएको छ । फाइनल खेलको इमर्जिङ खेलाडी काठमाडौं रेजर्सका राजन गुरुङ बने । यस्तै फाइनल खेलको सुपर प्लेयर अफ दी म्याच काठमाडौंका फ्लोरेन्ट बने । उनले २५ हजार रुपैयाँ पाए ।

उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पायो भने धनगढीले १५ लाखमा चित्त बुझायो ।