ओली–नेपाल पक्षको वार्ताको फोटोले ल्याएको तरंग
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का दुवै पक्ष हिजो (शुक्रबार) वार्तामा बसे । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल थिए । यी त भए ओली पक्ष ।
अर्को पक्ष खनाल–नेपाल समूहबाट माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त थिए ।
एमालेको वार्तामा भर्खरै पार्टी प्रविष्ट भएका रामबहादुर थापा ‘बादल ल्याएको भनेर सुरुमै नेता नेपालले असन्तुष्टि जनाए । कार्यदल बनाएर विवाद समाधानको काम सुरु गर्ने प्रयोजनका लागि बसेको बैठक निष्कर्षविहीन अर्थात् फेरि पनि त्यही कार्यका लागि दुई शीर्षस्थ जुट्ने सहमति गरेर छुट्टिए । यो कुरा बाहिर दुवै पक्षले भन्न चाहेन । दुवै पक्षले वार्ता सकारात्मक रहेको र कार्यदल बनाउन अध्यक्ष ओली र नेता नेपाल भोलि अर्थात् शनिबार पनि बस्ने भन्दै बाहिरिए ।
प्रधानमन्त्री ओली पस्दै गर्दा घनश्याम भुसाल रघुजी पन्तसहितका नेताले ‘धनुष्टङ्कार’ नमस्कार गर्दै गरेको फोटो सार्वजनिक भयो । अहिले यो फोटोले राजनीतिक वृत्त तताइरहेको छ । अनेक टिकाटिप्पणी भइरहेको छ । प्रधानमन्त्री ओलीको सचिवालयले नियतवश फोटो खिचेर बाहिर प्रचार गरिएको भन्दै अहिले खनाल–नेपाल समूह रुष्ट बनेको छ ।
ओलीप्रति कति नतमस्तक छन् भनेर बदनाम गर्ने बद्नियत राखेर बाहिर फोटो ल्याइएको भन्दै खनाल–नेपाल समूहले खण्डन नै गर्न थालेको छ ।
घनश्याम भुसालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर आपत्ति जनाएका छन् । “हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरू पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरू कोही नहुनु संयोगमात्र हो वा होइन थाहा भएन,” उनले यति लेखेर असन्तुष्टि पोखेका छन् ।