ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?
काठमाण्डौ । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए । उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो ? भनेर जिज्ञासा राखेका थिए । त्यसको जवाफमा ओलीले हो,कारबाही फुकुवा भयो,अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ। दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ ।
करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेका थिए । ‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि,’ दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए ।
ओली–नेपाल भेटघाटपछि बसेको माओवादी केन्द्रको बैठकमा भने हरिबोल गजुरेल र देवेन्द्र पौडेलले माधव नेपालले धोका दिन्छन् भन्ने पहिला नै थाहा भएको र त्यतिबेला ओलीसँग मिलौं भन्दा नमानेको भन्दै दाहालको आलोचना गरेका थिए ।
स्रोत- नागरिक दैनिक