एकैदिन ९,४८३ संक्रमित थपिए, थप २२५ जनाको मृत्यु पुष्टि
काठमाडौं । नेपालमा थप नौ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार ४८३ को नतिजा पोजिटिभ आएको हो । २० हजार ५९६ नमुनाको पीसीआर र ७२० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ ।
कोरोनाका कारण थप २२५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर पाँच हजार २२५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख १२ हजार १९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
कोरोनाबाट सबैभन्दा धेरै ६० वर्षमाथिका नागरिकको मृत्यु
त्यस्तै नेपालमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेहरुमा ६० वर्षमाथिका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हालसमम मृत्यु भएका ४ हजार ४८ मध्ये सबैभन्दा धेरै ६० वर्षमाथिका २ हजार ३८५ जना छन् । त्यस्तै ९ वर्षसम्मका बालबालिका २७ जना र १० देखि १९ वर्षका २६ जना छन् । त्यस्तै २० देखि २९ ११८ जना, ३० देखि ३९ वर्षका २९७, ४० देखि ४९ वर्षका ५१४, र ५० देखि ५९ वर्षका ७१७ जना रहेको मन्त्रालयले जनाएको छ ।
उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।सरकारीसँगै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।
अर्यालले आज पत्रकार सम्मेलनमार्फत् संक्रमितको संख्या उच्च भएकाले अक्सिजन आपूर्तिमा सरकारलाई चुनौति थपिएकाले भारत सरकारसँग लिक्विड अक्सिजन उत्पादन बढाउनेबारे छलफल भइरहेको पनि बताए ।