माधव पक्ष २२ सांसद उपस्थित नहुने, ओलीको अन्तिम आह्वान
काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिए ।
‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।
ओलीको आह्वान- आउनुस्, केही समस्या भए सँगै बसौं
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता तथा छलफलको माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विस्वासको मत लिनुभन्दा केहीघण्टा अगाडि एक ट्वीट सन्देसमार्फत यस्तो आह्वान गरेका हुन् ।
छलफलको माध्यमबाट आन्तरिक मतभेद वा असन्तुष्टि सम्बोधन गर्न सकिने बताउँदै उनले ट्वीटमा लेखेका छन्, ‘आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ ।’
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’ उनले ट्वीटमा लेखेका छन् ।
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।
माधव समूहको बैठकबाट दुई सांसद आक्रोशित हुँदै बाहिरिए
त्यस्तै नेकपा एमालेको माधव नेपाल समूहको बैठकबाट दुई जना सांसद बाहिरिएका छन् । समानुपातिक सांसद पार्वती विशंखे र कलिला खातुन सिंहदरबारमा जारी बैठकको बीचमै निस्केका हुन् । उनीहरु आक्रोशित मुडमा थिए। संवाददाताहरुसँग कुनै प्रतिक्रिया दिन चाहेनन् ।
उनीहरुले यसअघि नै नेपाल समूहलाई साथ नदिने संकेत गरेका थिए । बैठक चलिरहँदा भित्र बाजाबाज भइरहेकाे सुनिएकाे थियाे ।