स्थगित आइपिएलका बाँकी खेल आयोजना गर्न चार देशको दाबेदारी

एजेन्सी । भारतमा बढ्दो कोभिडको कारण केही हप्ताअघि स्थगित गरिएको आइपिएल बाँकी खेलहरु आयोजना गर्ने गरी इङल्याण्ड, श्रीलंका, अस्ट्रेलिया र युएईले आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)समक्ष प्रस्ताव पठाएका छन । १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल आयोजना गर्न चार देशले अग्रसरता देखाएका छन् । गत शुक्रबार इंग्ल्यान्डले आइपिएल आयोजना गर्न इच्छा देखाए तापनि आइतबारसम्ममा इंग्ल्यान्डसहित श्रीलंका, अस्ट्रेलिया र युएईले पनि बाँकी खेल आयोजना गर्ने गरी आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)समक्ष प्रस्ताव पठाएका छन् ।

आइपिएल इतिहासमा दुईपटक भारतबाहेक युएई र दक्षिण अफ्रिकामा प्रतियोगिता आयोजना भइसकेका छन् । बिसिसिआईले आइपिएलका बाँकी खेल २० दिनमा सक्ने गरी समय लिएको छ । २० दिनभित्रै आइपिएल सकेर सेप्टेम्बर र अक्टोबरमा आइसिसी पुरुष टी–२० विश्वकप आयोजना गर्ने तयारीमा छ ।

युएई
गत वर्ष भारतमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि बिसिसिआईले नै सबै आयोजनाको अधिकार आफूमा सीमित राखी युएईमा आइपिएलको १३औँ संस्करण सञ्चालन गरेको थियो । युएईले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सबै प्रोटोकल अपनाएर सफलतापूर्वक आइपिएल सम्पन्न पनि गरेको थियो । टी–२० फ्रेन्चाइजकै ठूलो प्रतियोगिता आइपिएल आयोजना गरिसकेको अनुभवका आधारमा युएईले दोस्रोपटक आयोजना गर्ने गरी प्रस्ताव राखेको हो । बाँकी ३१ खेल सम्पन्न गर्ने अवसर पाए, उत्कृष्ट तरिकाले पूरा गर्ने युएईको प्रतिबद्धता छ । युएईसँग दुबई, अबुधाबी र सरजहाँमा विश्वस्तरीय रंगशाला छन् ।

इंग्ल्यान्ड
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले चार इंग्लिस काउन्टी क्लब मैदानमा आइपिएल गर्न सक्ने जनाएका छन् । सेप्टेम्बरमै भारतीय क्रिकेट टोली इंग्ल्यान्डको भ्रमणमा निस्कनेछ । भारतविरुद्धको पाँच टेस्ट सिरिजअगाडि नै इंग्ल्यान्डले आइपिएल गर्न सक्ने जनाएको छ । इंग्ल्यान्डले चार काउन्टी क्रिकेट क्लब मिडल सेक्स, सरे, वाकसायर तथा लंकसायरका मैदानमा आइपिएल गर्न सक्ने जनाएको छ ।

अष्ट्रेलिया
आइपिएलपछि विश्वमै नाम कमाएको अर्को प्रतियोगिता अस्ट्रेलियाको बिग वास हो । अस्ट्रेलियाले आफूसँग पर्याप्त मैदान र कोरोना भाइरस नियन्त्रणमा समेत रहेका कारण आइपिएलका बाँकी खेल आयोजना गर्ने प्रस्ताव बिसिसिआईसमक्ष पठाएको छ । तर, प्रतियोगिता आयोजना गर्न कठिन देखिन्छ । अस्ट्रेलियाले भारतबाट आउने सबै अन्तर्राष्ट्रिय फाइटमा प्रतिबन्ध लगाएको छ । आइपिएलका ३१ खेलबाट करौडौँ डलर आम्दानी गर्न सक्ने भएकाले पनि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय फ्लाइट खुला गर्न सक्ने सम्भावना छ । अस्ट्रेलियामा सिड्नी, मेलबर्न र पर्थमा विश्वस्तरीय रंगशाला छन् ।

श्रीलंका
यही जुलाई महिनामा श्रीलंकाले लंका प्रिमियर लिग आयोजना गर्दै छ । यो प्रतियोतिगामा श्रीलंकाली क्रिकेट बोर्डले मैदानदेखि होटेल व्यवस्थापन सबै गर्नेछ । लंका प्रिमियर लिग समाप्त भएसँगै बोर्डले आइपिएल गर्न सक्ने जनाएको छ । किने भने श्रीलंकासँग भर्खरै समाप्त भएको लंका प्रिमियर लिग अनुभवकै आधारमै मैदान र होटेल तयारी अवस्थामै रहनेछ । श्रीलंकाले आइपिएल स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे र साँझ ७ः३० बजे गर्ने प्रस्ताव पठाएको छ ।

आइपिएल गर्नुको फाइदा
आइपिएल आयोजना गर्नु भनेको करोडौँ डलर आम्दानी गर्नु हो । आइपिएल विश्वकै ठूलो क्रिकेट लिग हो । बिसिसिआईले यो प्रतियोगिता आयोजना गर्न आँखा चिम्लेर रकम खर्च गर्दै आइरहेको छ । गत सिजनमा युएईले आइपिएल आयोजना गर्दा लाखौँ डलर आम्दानी गरेको थियो । युएईले जस्तै अन्य ती देशले पनि आइपिएल आयोजना गरी आर्थिक लाभ लिने मनसाय बनाएका छन् ।

यसैगरी आइपिएल गर्नुको अर्को फाइदा भनेको खेलकुद पयर्टनको प्रवद्र्धन गर्नु हो । भारतीयको बाहुल्य रहेको इंग्ल्यान्डमा आइपिएल हुँदा दर्शक ओइरिने सम्भावना छ । यसैगरी अस्ट्रेलियामा पनि दर्शकको कुनै कमी छैन । यहाँ भारत र अस्ट्रेलियाबीचको खेल हुँदा स्टेडियम फुल हुँदै आएका थिए । साथै, अन्य देशमा आइपिएल हँुँदा त्यहाँको स्थानीय विज्ञापन कम्पनी, कमर्सियल, प्रायोजक तथा अफिसियल पार्टनरसमेत सहभागी भई आम्दानी गर्नेछन् ।

आइपिएलका २९ खेलसम्मको अवस्था
९४९९ रन, ३८० छक्का, ३ शतक, ४८ अर्धशतक, १ सुपर ओभर, ३४३ विकेट, २४३३ डटबल ।