कोरोनाबाट मृत्युहुनेहरुको सन्ख्या बढे सँगै पशुपती आर्यघाटमा दाहसंस्कार गर्नेको भीड (फोटो फिचर)
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएकाे छ । आइतबार पशुपतिस्थित विद्युतीय शव दाहगृह बाहिर निकै भिडभाडको अवस्था देख्न सकिन्थ्यो । पछिल्लो समय मृतकको संख्या ह्वात्तै बढेकाले अहिले विद्युतीय शव दाहगृह प्राङ्गणमा हुने भिडभाडले पनि भयावहको अवस्था जनाउँछ ।
पशुपतिको विद्युतीय शव दाह गृहले थेग्न नसकेका कारण र मेसिन बिग्रन सक्ने भन्दै गत साताको सोमबारदेखि वाग्मती किनारमा अस्थायी रूपमा चिता बनाएर कोभिड–१९ ले मृत्यु भएकाको शव जलाउन थालिएको थियो । विद्युतीय शव दाहगृहमा अहिले ३ वटा शव जलाउने मेसिन छन् । जसमा एक मेसिनले दैनिक १२ वटा शव जलाउन सक्छ । तर मेसिनलाई बेलाबेला मर्मत र आरामको आवश्यकता पर्ने हुनाले वैकल्पिक शव जलाउनका लागि वाग्मतीको किनार रोजिएको पशुपति विकास कोषले जनाएको छ ।
मृतककाे संख्या बढेपछि हाल पशुपतिमा मृतकका आफन्तहरूको निकै भिडभाड हुँदा कोरोनाको जोखिम बढेको शव व्यवस्थापनमा खटिएको सेनाले जनाएको छ । वाग्मती किनारमा शव जलाउन थालेदेखि शव जलाएको दृश्य हेर्न पनि मान्छेहरुको भिडभाड हुने गरेको छ । आइतबार पशुपतिको विद्युतीय शव दाह गृह क्षेत्रमा देखिएको दृश्यलाई तस्बिरमा हेर्नुहाेस् ।
तस्बिरहरू : हरिशजंग क्षेत्री