ओलीलाई माधव समूहले दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए । सो समयमा पनि माग सम्बोधन नभए पुनः बैठक बसेर थप निर्णय लिइने उनको भनाइ छ । ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए ।

‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ’ भट्टराईले भने,‘सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान ९ बजेसम्मको समय दिएका छौ ।’

उनले ओलीले विहान ९ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए । नेपाल समूहले ओलीले माग पूरा गरे प्रतिनिधिसभा बैठकमा सहभागी बन्न सकिने पनि बताएको छ । नेपाल पक्षले आवश्यक परे राजीनामा दिनेसम्मको तयारी गरेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि सोमबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।