म्यान्चेस्टर युनाइटेडको शानदार पुनरागमन जीत

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जीत हासिल गरेको छ । युनाइटेडले एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ गोलअन्तरले हराएको हो । १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस, मेसन ग्रीनवूड र एडिन्सन काभानीले १, १ गोल गरेका थिए । भिल्लाका बर्टरान्ड ट्राओरेले एक गोल गरे ।

खेलको २४औं मिनेटमा नै ट्राओरेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएपछि युनाइटेड पहिलो हाफमा १-० ले पछाडि पर्‍यो । दोस्रो हाफको ५२औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै ५६औं मिनेटमा ग्रीनवूडले गोल गरेपछि खेलमा युनाइटेडले अग्रता लियो । ८७औं मिनेटमा काभानीले अर्को गोल थप्दै युनाइटेडको ३-१ को जीत सुनिश्‍चित गरे । खेलको ८९औं मिनेटमा भिल्लाका ओली वाट्किन्स दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिर पठाइएपछि भिल्ला अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो ।

जीतसँगै ३४ खेलबाट ७० अंक भएको युनाइटेड अंकतालिकाको दोस्रो स्थानमा यथावत् छ भने एक खेल बढी खेलेको सिटी ८० अंकसहित शीर्षमा यथावत् छ । यी दुवै टोली लामो समयदेखि पहिलो र दोस्रो स्थानमाा यथावत् छन् । पराजित भिल्ला ४८ अंकसहित ११औं स्थानमा छ ।

सिटीले उपाधि जित्‍ने लगभग पक्का भइसकेको छ भने युनाइटेडको पनि गणितिय सम्भावना बाँकी नै छ । त्यसका लागि सिटीले अप्रत्याशित हारहरु व्यहोर्नुपर्ने छ भने युनाइटेडले बाँकी ४ वटै खेल जित्‍नुपर्ने छ । सिटीले अब एक खेल मात्र जितेको खण्डमा लिग सकिनुअगावै उपाधि आफ्नो नाममा गर्ने छ ।