सामूहिक राजीनामा दिने निर्णय भएको छैन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आफूहरूले राजीनामा दिने निर्णय नगरेको बताएका छन् । माधवकुमार नेपाल पक्षका सांसदहरूले विश्वासको मत लिनुअघि नै सामूहिक राजीनामा दिने चर्चा चलिरहेका बेला पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् । तपाईँहरूले राजीनामा दिने निर्णय गर्नुभएको हो? भन्ने हिमालखबरको प्रश्नमा पाण्डेले भने, “राजीनामाबारे कुनै निर्णय भएको छैन ।”

आज बस्ने भनिएको आफ्नो पक्षको स्थायी कमिटी बैठकबारे पनि टुंगो लागिनसकेको नेता पाण्डेले बताए । साँझसम्म एउटा निर्णयमा पुग्ने सम्‍भावना रहेको उनले बताए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पाण्डेसहित ३० सांसदसँग ‘तपाईंलाई संघीय सांसदबाट किन पदमुक्त नगर्ने?’ भनेर स्पष्टीकरण सोधेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र पाण्डेलाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिनका लागि संसद् अधिवेशन आह्वान भएको छ। उनलाई बहुमतका लागि १३६ सांसदको समर्थन आवश्यक पर्दछ ।

सामूहिक राजीनामाको बेला भइसकेको छैन : राजबहादुर बुढाको अपिल

त्यस्तै नेपाल पक्ष अर्क नेता राजबहादुर बुढाले पनि सामूहिक राजीनामाको बेला भइसकेको छैन भन्ने कुरा इंगित गरेका छन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद २०५४ साल फागुन २१ को मोडमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ मा फर्कन इन्कार गर्दै आफ्नो ढिपी नत्यागेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामाको तयारी गरिरहँदा सांसद राजबहादुर बुढाले अझै सम्भावना बाँकी रहेको बताएका छन् ।

“नेताहरूले हामीलाई राजीनामाको तहमा पुर्‍याउनुहुन्न होला,” विगतमा अन्तिम घडीमा नेताहरूले विवेक पुर्‍याएको उदाहरण दिँदै सांसद बुढाक्षेत्रीले भने, “पार्टी जीवनमा कठिन घडी आइपुगेको छ । यस्तो बेला दुवै नेताले विवेक पुर्‍याउनुपर्छ । हामी सांसद संयमित हुनुपर्छ ।” यो गम्भीर अवस्थामा कि पार्टी दुर्घटनामा जाने कि निकासको क्षितिज उघ्रने भन्दै दैलेख–२ बाट निर्वाचित सांसद रहेका उनले अहिल्यै राजीनामा दिइनहाल्न सांसदहरूलाई सुझाए पनि ।

“मेरो हकमा, म निर्णय लिइसक्ने तहमा पुगेको छैन । भोलि १२ बजेसम्मको समय बाँकी छ । नेताहरूबीच संवादहरू पनि होलान् । मिल्दै मिलेन भने मैले लिने निर्णय सुरक्षित छ,” उनले भने ।