कांग्रेस सभापति देउवासँग ठाकुर र महतोको लामो भेट वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए ।

ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा थिए । जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन् । आगामी सरकारको नेतृत्वको विषयमा दुई धारमा विभाजित जसपाले कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

देउवालाई भेटेर बालुवाटार पुगे महन्थ र राजेन्द्र

बुढानिलकण्ठामा देउवालाई भेटे लगत्तै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन् । अहिले नेतारुको राजनीतिक भेटघाट तीव्र बनेको छ ।