‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

विश्वकै प्रख्यात मेडिकल जर्नल द ल्यान्सेटले कोरोना महामारी नियन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदासीनतामाथि कटू आलोचना गरेको छ । एक सम्पादकीयमा सो म्यागेजिनले यतिखेर मोदी कोरोना भाइरस नियन्त्रणभन्दा पनि ट्वीटरमार्फत आफ्ना आलोचकलाई दबाउन लागिरहेका लेखेको छ । उनले कोरोना महामारीभन्दा आलोचकमाथि काबू पाउन समय खर्चिरहेको जर्नलले आरोप लगाएको छ ।

जर्नलको सम्पादकीयमा लेखिएको छ, यस्तो मुस्किल समयमा पनि मोदी आफूमाथिको आलोचना दबाउन लागिपरेका छन्, उनको यस्तो कोशिश माफीको लायक नै छैन । इन्स्टिच्युट अफ हेल्थ मेट्रिक एण्ड इभ्याल्यूएशनले आगामी अगष्ट १ तारिखसम्म भारतमा कोरोना संक्रमणपश्चात् ज्यान गुमाउनेको संख्या कम्तिमा १० लाख पुग्नसक्ने अनुमान गरिसकेको छ ।

सुरुवाती चरणमा केही सफल भएपनि अप्रिल यता सरकारी टास्क फोर्स एकपटक पनि नजागेको सो जर्नलले लेखेको छ । ‘यसको नतिजा अहिले विश्वसामु रहेको र महामारीले भारतको स्थिति विकराल बनिसकेको छ,’ जर्नलको सम्पादकीयमा लेखिएको छ, ‘अब भारतले नयाँ सिराबाट कदम चाल्नुपर्छ, सरकारले यसअघि गरेका गल्ती स्वीकार गर्छ या गर्दैन र देशको नेतृत्वमा पारदर्शीता देखाउँछ/देखाउँदैन भन्ने कुराले भविष्य निर्धारण गर्नेछ ।’

खोप अभियान पूरा नहुँदासम्म संक्रमण रोक्न हरेक जरुरी कदम उठाउन आवश्यक रहेको सो जर्नलले लेखेको छ । चिकित्सकीय क्षेत्रको चर्चित जर्नलले मोदीको कटु आलोचना गरेपछि विपक्षीहरू उनीमाथि खनिएका छन्। केही विपक्षी नेताहरूले स्वास्थ्यमन्त्री हर्षवर्धनको राजीनामा समेत मागेका छन्।