अख्तियार प्रमुख राई र प्रधानमन्त्री ओलीबिच अर्थपूर्ण भेट

काठमाडौँ । संकटमा घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसँग शनिबार लामो छलफल गरेका छन् । साम, दाम, दण्ड, भेद सबै औजारहरु आफ्नो पक्षमा प्रयोग गर्न माहिर ओलीले शनिबार अपराह्न राईसँग आफ्नै निवास बालुवाटारमा भेट गरेका हुन् ।

उनको बिरुद्ध लागेका राजनीतिक प्रतिद्वन्द्वीहरुलाई ठेगान लगाउन अख्तियार प्रयोग हुँदैछ भन्ने अड्कलबाजी भइरहेका बेला भएको ओली-राई भेटलाई त्यही सन्दर्भमा हेरिएको छ । ‘भोलि नै ओलीबिरुद्ध लागेका केही राजनीतिक व्यक्तिहरु बिरुद्ध अख्तियारले कारबाही सुरु गरेमा आश्चर्य नमान्नुहोला,’ भेटघाटबारे जानकार एक स्रोतले देशसञ्चारलाई बतायो ।

प्रधानमन्त्री ओलीले आफू विरोधी नेताहरुलाई अख्तियार देखाएर तर्साउने गरेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएकै दिन यो भेटघाट भएको छ ।