ओलीविरुद्ध काँग्रेस खुलेरै आयो तर नेतृत्व लिन भने अझै हिचहिच्किहट
काठमाडौँ । लामो आनाकानीपछि वैकल्पिक सरकारको निर्माणमा अग्रणी भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र त्यसका नेता शेरबहादुर देउवा तयार भएका छन् । शनिबार बिहान पाटी पदाधिकारीको बैठक र अपरान्ह संसदीय दलको बैठकको अध्यक्षता गरेका देउवा ओलीद्धारा सोमबार संसदमा ल्याइने विश्वास मतलाई पराजित गर्न र वैकल्पिक सरकार निर्माणमा औपचारिक रुप दिन सहमत भएको छ । देउवाले अपरान्ह संसद भवनमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवैले संवैधानिक मर्यादा बिपरीत कार्य गरेको निष्कर्ष निकाल्दै उनीहरुबाट मुलुकलाई मुक्त गराउनु पर्ने धारणा राखेका थिए, निकै पेचिलो ढंगबाट ।
बैठकमा उपस्थित एक सांसदका अनुसार देउवा राष्ट्रपति भण्डारीविरुद्ध थप आक्रोशित थिए । उनी दलका कार्यकर्ताका रुपमा सक्रिय भएको र पार्टीको शंख्या पुगेको खण्डमा उनलाई महाअभियोग लगाउनु पर्ने सम्मको अवस्था सिर्जना भएको देउवाले बताएका थिए । देउवाले महाअभियोगको संकेत गरे पनि त्यसबारे विभिन्न पार्टीमा सहमति बनिसकेको र त्यसका लागि दुई तिहाई समर्थन सम्भव नभएको उनी स्वयम्ले बैठकमा स्वीकार गरेका थिए ।
वैकल्पिक सरकार गठनका लागि तयार भएपनि संसदमा आवश्यक बहुमत जुटिसकेको अवस्था नभएकाले देउवा अन्य प्रतिपक्ष नेकपा माओवादी केन्द्र र उपेन्द्र यादव –डा. बाबुराम भट्टराई पक्षीय जनता समाजवादी पार्टी (जसपा) र गोप्यरुपमा एमाले माधवकुमार नेपाल पक्षसँग छलफलमा रहेको बुझिएको छ । त्यस्तै देउवाले अन्तर्राष्ट्रिय मुड खासगरी भारतको समर्थन हासिल गर्न पनि पार्टी भित्रका व्यक्ति र संयन्त्र परिचालन गरेको बुझिएको छ । पार्टी सांसद अमरेशकुमार सिंहले विभिन्न दल र पक्षका नेताहरुसँगै भारतीय दूतावासका पदाधिकारीसँग पनि छलफल गरेका छन् । शुक्रबार उनी बालुवाटारपछि भारतीय दूतावास प्रवेश गरेका थिए । त्यसअघि सिंहले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
काँग्रेस संसदीय दलको बैठकमा केही सदस्यहरुले ओली कुनै पनि हालतमा सत्ता छोड्न तयार नभएको र निर्धारित संसद अधिवेशन पूर्व नै संसद विघटन जस्ता अनपेक्षित कदम उठाउन सक्नेबारे पार्टी नेतृत्वलाई सचेत गराएका थिए । ओलीलाई हटाउन काँग्रेस खुलेर अघि आएपनि देउवाको पक्षमा आवश्यक बहुमत जुट्छ या छुट्दैन ? त्यो आगामी २४ घण्टाको आंकलन पछि निर्धारण हुने देखिन्छ । यसैबीच पहिलो पटक काँग्रेसले ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा सामेल नहुने घोषणा देउवाले गरेका छन् । साथै पार्टीले प्रधानन्याधीश र सभामुखलाई नजान आग्रह गरेको छ । ओलीले आइतबार बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।