बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षे प्रधानको उपचारका क्रममा निधन भएको उनका भाञ्जा समेत रहेका मञ्जुकुमारले जानकारी दिए । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।
‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।
विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे । उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ । सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।
प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिए । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।