नेपालमा कोरोनाको बर्तमान परिस्थिती (बिस्त्रित रिपोर्ट)

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक सामग्रीले नेपालमा कोरोना संक्रमण फैलावटको अवस्था भयावह रहेको देखिएको छ । डा. अर्चना श्रेष्ठद्वारा प्रस्तुत गरिएको सामग्रीमा देखाइएका केही तथ्यांकले नेपालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको प्रष्ट हुन्छ ।

प्रस्तुतिमा जर्मनको अनुभवसहित दिएको उदाहरणहरुले सरकारले निषेधाज्ञाको गलत बाटो लिएको पनि प्रष्ट हुन्छ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा कमिसनको चक्करले २७ दिनसम्म ढिला भएको र अहिले पनि उक्त प्रक्रिया अलमलमै रहेको स्पष्ट पारेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको खबर विहीबार राष्ट्रिय दैनिकहरुले प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् ।

यही बेला कोरोना परीक्षणमा पोजेटिभिटीको दर हेर्दा पनि नेपालमा भयानक अवस्था देखिन्छ । यसबाट सरकारले परीक्षणमा पनि खासै मेहनत नगरेको देखिन्छ । जनसमुदाय स्तरबाट खेल्नुपर्ने भूमिकामा पनि नेपालीहरु चुकिरहेको देखिन्छ ।

हेरौं यसबारे मन्त्रालयको लागि डा. श्रेष्ठको प्रस्तुति-

विगतको हप्ताभन्दा यो हप्ता नेपालमा झण्डै १२७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको छ । अरु देशहरुको तुलनामा अझै पनि हाम्रो देशमा एकदमै द्रुत गतिमा संक्रमण फैलिइरहेको छ भन्ने देखाउँछ ।

राष्ट्रियरुपमा मात्रै नभएर हरेक प्रदेशप्रदेशमा पनि संक्रमण द्रुत गतिमा फैलिइरहेको भन्न सकिन्छ । अघिल्लो हप्ता र यो हप्ताको संक्रमितको संख्या तुलनात्मकरुपमा हेर्दा सबै प्रदेशहरुमा सय प्रतिशत भन्दा बढीले संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

विशेषगरी लुम्बिनी प्रदेशमा त ३८४ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भइरहेको देखिन्छ ।

नेपालमा संक्रमणको फैलावटको अवस्थाबारे चर्चा गरौं । यसलाई विश्लेषण गर्न संक्रमितको संख्या प्रति लाख जनसंख्यामा कति छ भन्ने तथ्यांकबाट आंकलन गर्न सकिन्छ । संक्रमितको संख्या प्रति एक लाख जनसंख्यामा १० भन्दा बढी भयो भने एकदमै व्यापकरुपमा महामारी फैलिएको भन्ने बुझिन्छ । हामीले नेपालको तल दिइएको नक्सामा हेर्ने हो भने धेरै यस्ता जिल्लाहरु छन् जसमा व्यापक मात्रामा संक्रमण फैलिइरहेको देख्न सकिन्छ ।

अधिकरुपमा संक्रमण फैलने भनेको ६ देखि १० प्रति एक लाख जनसंख्यामा हरेक दिन संक्रमण देखिने अवस्था पनि हाम्रो देशमा धेरै जिल्लाहरुमा अधिक र व्यापकरुपमा नै संक्रमण फैलिइसकेको देख्न सकिन्छ ।

महामारीको यो ग्राफलाई हेर्दा हामीले अघिल्लोपटकको चरणमा देखिएको वेभभन्दा हामी माथि नै पुगिसकेका छौं । यसमा एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने हामी अझै दोस्रो चरणको एक तिहाईमा मात्रै पुगेका छौं । यसको अर्थ दुई तिहाई संक्रमितको संख्या पुग्न अझै बाँकी नै छ । अहिले गत वर्षमा चुलीमा पुग्दा सबैभन्दा बढी संक्रमण लगभग ५ हजारको संख्यामा संक्रमण देखिएको थियो । बुधबारसम्म प्रतिदिन ७/८ हजारसम्मको संक्रमण देखिइसकेको छ । यसले गत वर्षभन्दा यस वर्ष अत्यन्तै द्रुत गतिमा संक्रमण फैलिइरहेको देखाउँछ ।

यसको विभिन्न कारणहरु हुनसक्छ । एउटा कारण नयाँ भेरियन्टहरु आउनु हो । यो द्रुत गतिमा फैलिइरहेको छ ।

हरेक प्रदेशहरुमा हेर्दा यस्तै अवस्था देखिन्छ ।

संक्रमितको संख्या बढ्नु र टेस्ट पोजेटिभिटी दरको प्रत्यक्ष सम्बन्ध हुन्छ । जति टेस्ट पोजेटिभिटी दर बढी हुन्छ त्यति नै संक्रमण द्रुत गतिमा फैलिइरहेको छ भनेर हामीले बुझ्नुपर्छ । पर्याप्त परीक्षण भनेको टेस्ट पोजेटिभिटी दर ३ प्रतिशत भन्दा कम हुनुपर्छ । यसो हुँदा मात्र हामीले परीक्षण पर्याप्त भइरहेको छ भनेर जान्दछौं । अहिले नेपालको हकमा टेस्ट पोजेटिभिटी दर झण्डै ३२ प्रतिशतसम्म पुगेको छ । यो भनेको अत्यधिक धेरै हो । हाम्रो छिमेकी मुलुक भारतमा पनि यो दर १५ प्रतिशतभन्दा बढी भएपछि पुरै प्रान्तलाई नै लकडाउने गर्ने रणनीति लिइएको छ ।

नेपालमा हरेक प्रदेशमा टेस्ट पोजेटिभिटी दर एकदमै बढी देखिन्छ । सबैभन्दा कम प्रदेश १ मा २३ प्रतिशत देखिएको छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ६७ प्रतिशतजति टेस्ट पोजेटिभिटी दर देखिएको छ । यो अत्यधिक हो । यो दर ३ प्रतिशतमा झर्दा मात्र हाम्रो देशमा पर्याप्त मात्रामा परीक्षण भएको छ भनेर बुझ्नुपर्छ । हाम्रो देशको अवस्था हेर्दा समुदायमा हामीले देखेको भन्दा धेरै मात्रामा कोरोना महामारी फैलिइरहेको छ भनेर बुझ्नुपर्छ ।

नेपालमा दैनिक मृत्युको संख्या पनि बढ्दै गइरहेको छ ।

हाम्रो देशमा परीक्षणको मात्रा बढाउनु एकदमै आवश्यक छ । लक्षण देखिइसकेकाले त परीक्षण गर्नु परिहाल्यो । उनीहरुको सम्पर्कमा आएकाहरुले पनि परीक्षण गरिहाल्नुपर्छ । परीक्षण गराउँदा दुई प्रकारले व्यक्तिगतरुपमा फाइदा हुन्छ । एउटा आफूलाई कोरोना संक्रमण भएको नभएको प्रष्ट हुन्छ । आफ्नो स्वास्थ्य अवस्था परीक्षण गर्न सजक हुने वातावरण पनि बनाउँछ । अर्को, पोजेटिभ भएको अवस्थामा घरमै आइसोलेसनमा बस्नुका साथै आफ्ना प्रियजन/मित्रजनहरुसँग घुलमिल नगरेर पनि संक्रमणको फैलावट रोक्न सकिन्छ । यसबाट समुदायमा कोरोनाको फैलावटको क्रमलाई नियन्त्रण गर्न सकिन्छ ।

परीक्षणको मात्रा बढाउँदा व्यक्तिगत तहमा मात्र होइन, देशलाई नै फाइदा हुन्छ । जस्तै- जर्मनीमा भएको एउटा अनुसन्धानबाट निकालिएको तलको ग्राफ हेरौं । यसको उदाहरण हेर्दा परीक्षण र आइसोलेसनमा बस्दा कसरी संक्रमण घट्छ र लकडाउन वा निषेधाज्ञा गर्दा कसरी घट्छ भन्ने यहाँ देखाइएको छ । निषेधाज्ञा आंशिक लकडाउन हो । पूर्ण लकडाउन हुँदा र परीक्षण/आइसोलेसन बढाउँदा हुने कोरोना नियन्त्रणमा खासै फरक छैन ।

त्यसैले परीक्षण गरेर आइसोलेसनमा बस्दा समुदायमा संक्रमण फैलावट हुनबाट रोक्न सकिन्छ । यो हामीले ठिक समयमा र पर्याप्त मात्रामा गर्न सक्यौं भने ८५ प्रतिशतसम्म संक्रमणलाई रोक्न सक्छौं । र, लकडाउनले भन्दा पनि अझ छिटो यो विधिले संक्रमणलाई रोक्न सक्छौं ।

देशको दृष्टिबाट हेर्दा परीक्षण र आइसोलेसनको विधि अपनाउँदा लकडाउनले भन्दा एकदम कम रकम खर्च हुन्छ । लकडाउन गर्दा जति क्षति देशलाई हुन्छ, त्यो भन्दा एकदम कम क्षति परीक्षण बढाउने र आइसोलेसनमा बस्ने रणनीतिले हुन्छ ।

अर्को महत्वपूर्ण कुरा आफ्नो कन्ट्र्याक्ट ट्रेसिङ आफैं गर्ने । संक्रमित आफैंले आफूलाई आइसोलेसनमा राख्ने र साथसाथै एकदमै महत्वपूर्ण पक्ष भनेको आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई समयमै सतर्क र सजक गराउने । लक्षण देखिएको २ दिन अगाडिदेखि १० दिन पछाडिसम्म सम्पर्कमा आएका व्यक्तिहरुलाई तत्काल सम्पर्क गरेर १० दिन घरमै क्वारेन्टिनमा बस्न आग्रह गर्ने र दोस्रो, आफूले भेटेको ७ दिनमा परीक्षण गराउन सल्लाह दिने । तेस्रो, ती व्यक्तिहरुमा केही लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्न पठाउने सल्लाह । यतिले मात्र पनि समुदाय स्तरमा संक्रमण रोक्न सक्छौं ।

हामी होम आइसोलेसनमा बस्दा आफ्नो स्वास्थ्यको परीक्षण आफैं पनि गर्नुपर्छ । रगतमा अक्सिजनको मात्र नाप्ने र नियमित कोभिडका लक्षण र चिन्हहरुलाई निरीक्षण गरिराख्ने । यदि अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भयो र गम्भीर लक्षणहरु श्वास फेर्न एकदम गाह्रो हुने भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । यसले आफ्नो जीवनरक्षाको लागि भूमिका पुग्छ । यसबाट अस्पतालमा कम भिडभाड हुन्छ ।

कोभिड केस व्यवस्थापनको तयारी अर्को महत्वपूर्ण पक्ष हो । हामीले शहरका ठूला अस्पताल मात्र हेर्नुपर्छ भन्ने छैन । गाउँघरका स्वास्थ्य केन्द्रहरु, जिल्ला अस्पतालहरुले पनि यो पहलकदमी लिन सक्छन् । सबै संक्रमितलाई आइसियु र अक्सिजन नै चाहिन्छ भन्ने छैन । धेरै संख्याका संक्रमितलाई केही औषधि दिएर मात्र उपचार गराउन सकिन्छ । यो सबै तहमा गर्न सकिन्छ । यसले गर्दा हरेक स्वास्थ्य संस्थाहरु तयार भएर बस्नुपर्छ ।

अहिलेको अवस्थामा स्थानीय तहको जिम्मेवारी असाध्यै छ । स्थानीय तहले परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ । गत वर्षको जस्तै स्थानीय तहले आफ्नो क्रियाशिलता बढाउनुपर्छ ।

(बुधबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको सामग्रीको सम्पादित अंश)

स्रोत – साझापोष्ट