प्रहरी अस्पतालमा बेलायती दूतावास र यूएन ओपीएसको सहयोगमा अक्सिजन प्लान्ट
काठमाडौँ । नेपालस्थित बेलायती दूतावास र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएन ओपीएस) को सहयोगमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा अक्सिजन प्लान्ट राखिएको छ । यो प्लान्ट यसै साता आयात गरिएको हो ।
अस्पातलको प्रणालीमा आवद्ध गरिएको यो प्लान्टको अक्सिजन उत्पादन क्षमता हरेक दिन ८,५९२ लिटर (१६० ठूला सिलिण्डर) रहेको छ । यो प्रणालीमा दुईओटा अक्सिजन भर्ने ट्यांक पनि उपलब्ध छ, यसमा १,२२० लिटर क्षमता (२४ ठूला सिलिण्डर) रहेको छ ।
बेलायत सरकारले सन् २०१५ देखि नेपाल प्रहरीलाई न्यायमा पहुँच र समुदायमा सेवा प्रवाहका लागि मोर्डनाइजेसन एण्ड इम्प्रुभमेन्ट अफ पोलिसीङ प्रोजेक्ट सञ्चालन गरिरहेको छ । सोही परियोजना अन्तर्गत अहिले अक्सिजन प्लान्ट सहयोग गरिएको हो । यो परियोजनाले कोभिड–१९ महामारी प्रतिवादका लागि नेपाल प्रहरीलाई तत्कालीन र मध्यकालीन सहयोग पनि प्रदान गरिरहेको छ । अग्रपंक्तिका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण र सघन उपचारकक्षका लागि स्वास्थ्य उपकरणहरूका साथै अक्सिजन प्लान्ट सहयोगले कोभिड–१९ सँग जुझ्न उल्लेख्य सहयोग पुगेको नेपाल प्रहरीले जनाएको छ ।