ममता बेनर्जी तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै मानिसमात्र सहभागी थिए । गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन् ।

नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर गएका उनको क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् । चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन । भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ ।

बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिएकी हुन् अब उनी छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर विधान सभा सदस्य हुनेछन् । पश्चिम बंगालमा पार्टीलाई दुई तिहाइ बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन् ।