काठमाडौंको निषेधाज्ञा २९ गतेसम्म खाद्य पसल बिहान ९ बजेसम्म मात्रै
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ । मंगलबार (आज) काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायप्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए ।
उनले बैंशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने बताए । त्यस्तै नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उहाले बताउनुभयो ।
त्यस्तै निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराउन अनुगमनको कामलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ ।
काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म मात्रै खाद्य पसल खोल्न पाइने, बेलुका नपाइने
त्यस्तै काठमाडौं उपत्यकामा खाद्यान्न पसलहरू बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरूको संयुक्त बैठकले बिहान ९ बजेसम्म मात्रै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यस अघि काठमाडौं उपत्यकामा बिहान र बेलुका दुई पटक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । कोरोना संक्रमणको दर बढ्दै जाँदा सीडीयोहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले जारी निषधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय समेत गरेको छ ।