शीर्ष सातमा पुगेका अर्थरको चर्चासँगै आलोचना

नेपाली मूलका गायक अर्थर गन (दिवेश पोखरेल) अमेरिकन आइडल सिजन–१९ को उत्कृष्ट सातमा पर्न सफल भएका छन् । अघिल्लो सिजनका रनरअप उनी अघिल्लो सिजनकै अरु टप १० प्रतिस्पर्धीका साथमा सिजन–१९ मा ‘कमब्याक’ गरेका हुन् । उनले दुई साताअघि कमब्याक प्रस्तु्तिको रुपमा आइरिस गीत प्रस्तुत गरेका थिए । प्रस्तुतिपछि उनी टप सातमा पर्ने/नपर्ने भन्ने जिम्मा दर्शकलाई दिइएको थियो । अप्रिल २६ तारिखसम्मको भोटका आधारमा उनी यो सूचीमा परेका हुन् ।

त्यस्तै, आइतबार यस सिजनका अरु नौ प्रतिस्पर्धीसँग अर्थरले प्रस्तुति दिएका थिए । त्यसमध्ये तीनजना बाहिरिएपछि अर्थर उत्कृष्ट सातमा पर्न सफल बनेका हुन् । अघिल्लो सिजनका प्रतिस्पर्धीले यस सिजनमा सिधै उत्कृष्ट १० सँग प्रतिस्पर्धा गर्ने मौका पाएका हुन् । भोटका कारण उनी शीर्ष सातमा पर्न सफल भए पनि कतिपयले विरोध जनाएका छन् । अमेरिकन आइकलका दर्शकले अर्थरलाई पुनः शोमा फर्काउनु यस सिजनका नयाँ प्रतियोगीहरुका लागि अन्याय भएको उल्लेख गरेका छन् । अर्थर उत्कृष्ट सातमा परेको खबरसँगै कतिपयले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

गत वर्ष कोरोना कहरका कारण अमेरिकन आइकलको भव्य मञ्चमा अन्तिम प्रतिस्पर्धीले प्रस्तुति दिन पाएका थिएनन् । आ–आफ्नै घरमा बसेर भर्चुअल प्रस्तुति दिन बाध्य बनेका थिए । एक ट्विटर प्रयोगकर्ताले अर्थरले स्टेजमा प्रस्तुति दिन पाएन भन्दैमा यो सिजनमा फिर्ता बोलाउनु जायज नभएको लेखेकी छन् । केहीले अर्थरको फ्यान फलोअर्स भइसकेको र अहिलेका प्रतिस्पर्धीहरु सुरुवाती स्टेजमा रहेको भन्दै अन्याय भएको टिप्पणी गरेका छन् ।