सुरक्षाको कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल स्थगन

म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल अगाडी वल्र्ड ट्राफोर्डमा हजारौं समर्थकहरु मैदानमा उत्रिएर विरोध प्रदर्शन गरेपछी आजको खेल स्थगन भएको छ । क्लवका अमेरीकी मालिकको विरोधमा समर्थक मैदानमा नै उत्रिएर नारावाजी गर्नुका साथै तोडफोड नै गरेका छन । मैदान प्रवेशमा रोक लगाएको अवस्थामा पनि उनीहरु छैवैमा रहेको होटेलबाट प्रवेश गरेको बताइएको छ । स्थानीय समय अनुसार खेल साँझको साँढे चार बजेबाट सुरु हुनुपर्ने थियो तर बिरोध प्रदर्शनका कारण स्थानीय निकाय, प्रहरी र प्रिमियर लिगको अधिकारीहरुसँगको छलफल पछी सुरक्षाको कारण आजको खेल स्थगन गरिएको हो ।

समर्थकहरु खेल मैदानभित्र पसेर प्रत्यक्ष प्रशारणका लागि राखिएका क्यामराहरु तोडफोड गरेका छन भने खेलाडी पनि होटेल फिर्ता लगिएको थियो । त्यस्तै रेफ्रिलाई पनि सुरक्षा दिएर रंगशालाबाट निकालिएको थियो । समर्थकहरु मैदानमा विना मास्क प्रवेश गरेकाले कोभिडको नियम उलंघन भएको नभएको भन्ने अनुसन्धानका लागि आपतकालिन बैठक बसेको छ । समर्थकले मिडियाबक्स, खेलाडी बस्ने स्थानपनि तोडफोड गरेको बताइएको छ ।

युरोपियन सुपर लिगमा युनाइटेडले संस्थापक क्लवका रुपमा सहभागि हुने प्रयास गरेको भन्दै उनीहरुले विरोध गरेका हुन । उनीहरुले अमेरीकी मालिक फिर्ता हुनुपर्छ भन्दै नारावाजी लगाएको थिए ।