ज्यान मार्ने धम्कीको कारण कोभिशील्ड खोप निर्माता सिरमका सीइओ बेलायत पुगे
एजेन्सी । भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् । भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताएका छन् । बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तरवार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको जानकारी दिएका हुन् ।
उनलाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरूले फोनबाट धम्क्याएको खबर नवभारत टाइम्सले लेखेको छ । सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ । ‘म यहाँ (लन्डन) निर्धारित समयभन्दा बढी बस्नेछु। म तत्काल भारत फर्कन चाहन्नँ। यो कोरोना संकट न्यूनीकरण गर्ने जिम्मेवारी मेरो काँधमा पनि छ । तर, म यो एक्लैले केही गर्न सक्दिनँ,’ उनले भनेका छन् ।
केही दिनअघि पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो ।