भारतमा कोरोनाको कहर : दिल्लीका अस्पतालमा बेड छैन, घाटमा लास जलाउने प्लेटफर्म खोजिदै

एजेन्सी । दिल्लीमा बितेको २४ घण्टामा तीन सय ९५ जनाको कोरोनाबाट ज्यान गएको छ। कोरोनाका बिरामीले दिल्लीका सबै अस्पतालहरू भरिएका छन् नै लास जलाउने घाटमा पालो कुर्नपर्ने अवस्था आएको छ । दिल्लीको सराय काले खान शवगृहमा शवहरूको दाहसंस्कारका लागि २७ नयाँ प्लेटफर्महरू निर्माण गरिएको छ। घाट नजिकैको पार्कमा ८० प्लेटफर्महरू निर्माण गरिएको छ । दिल्ली नगरपालिकाले यमुनाको किनारमा घाट बनाउनको लागि ठाउँ खोजिरहेको जनाएको छ । सराय काले खानमा, केवल २२ वटा शवहरू सँगै जलाउन सकिन्छ। यस दाहसंस्कारका कर्मचारीले हिन्दू अखबारलाई भनेका छन् कि उनीहरू बिहानदेखि मध्यरातसम्म निरन्तर काम गरिरहेका छन् ।

गाजीपुर चिहानमा पार्किङ ठाउँमा २० थप प्लेटफर्महरू निर्माण गरिएको छ। एक अधिकारीले इन्डियन एक्सप्रेस अखबारलाई भने,’कोरोना संक्रमणबाट यति धेरै मान्छेको मृत्यु भएको छ कि लास जलाउन आवश्यक प्लेटफर्महरू निर्माण गर्नु आवश्यक छ ।’ प्रत्येक लासलाई पूर्णरूपमा जलाउन छ घण्टा लाग्छ । आफ्ना आफन्तको लास जलाउन तीनदेखि चार घण्टा कुर्न परिरहेको छ । दिल्लीमा अन्य दाहसंस्कार स्थलहरूको अवस्था पनि गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । कोरोना संकटमा संघर्ष गरिरहेका मानिसहरूलाई सहयोग पुर्‍याउने गैर-सरकारी संस्था सेन्टर फर होलिस्टिक डेभलपमेन्टका प्रमुख सुनील कुमार अलेडियाले शहरका केही शवदाहगृहमा सुविधा विस्तार गर्न ठाउँ नभएको जनाएका छन् ।

सहरको कम्तिमा दुईवटा अस्पतालमा अक्सिजन आपूर्ति बिग्रिएको छ । बिरामीहरू मर्दै गएका छन्। एम्बुलेन्सहरूको कमि हुँदै गएको छ । अस्पतालमा बेड पाउन असम्भव जस्तै भएको छ । यदि भाग्यवश बेड पाइयो भनेपनि अस्पतालसम्म पुग्न एम्बुलेन्सहरू नभएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा कारोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । तीव्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार चार सय ५२ जना संक्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परीवार कल्याण मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार चार सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दैनिक रुपमा संक्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढिरहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार चार सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल संक्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार चार सय १८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार नाै सय ७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार दुइृ सय २८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ । भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार एक सय सात जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।