निषेधाज्ञाको पहिलो दिन २०८ आन्तरिक उडान, प्रिपेड ट्याक्सीको ब्यवस्था

काठमाडौं । उपत्यकामा आजदेखि सुरु भएको निषेधाज्ञाकै बीचमा जारी रहेको हवाइ यातायातबाट ८ हजार २ सय ६९ जनाले यात्रा गरेका छन् । काठमाडौं विमानस्थलले दिएको विवरणअनुसार देशका विभिन्न विमानस्थलबाट २ हजार ८१६ जना काठमाडौं भित्रिएका छन् भने ५ हजार ४५३ जना बाहिरिएका छन् । निषेधाज्ञा सुरु भएपनि काठमाडौं छाड्नेहरुलेको संख्या अझै धेरै रहेको छ। बुधबार भने कूल १५ हजार यात्रुले यात्रा गरेका थिए जसमा आउने र जानेको संख्यामा धेरै फरक थिएन ।

आज कूल २०८ उडान तथा अवतरण भएका छन् । सबैभन्दा धेरै उडान बुद्ध एयरले ९६ वटा गरेको छ। सबैभन्दा न्यून नेपाल एयरलाइन्स र समिट एयरका चार उडानमात्र भएका छन् ।

हवाई यात्रुलाई प्रिपेड ट्याक्सी सुविधा

निषेधाज्ञाको अवधिमा जहाजबाट यात्रा गर्ने यात्रुहरुले विमानस्थल आउजाउ गर्नका लागि प्रिपेड ट्याक्सी सेवा पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा आदेशअनुसार नै वैध टिकट,भिसा,पासपोर्ट भएका यात्रुले यस्तो सेवा पाउने छन् । विमानस्थल कार्यालयबाट अनुमति पाएका हरियो नम्बर प्लेट भएका यस्ता ट्याक्सीको सेवा लिनका लागि यात्रुले कि विमानस्थलको पार्किङमा जानुपर्ने छ कि फोन गरेर आफूलाई पायक पर्ने ठाउँमा बोलाउन सकिने छ ।

फोन गरेर बोलाउनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि फरक फरक फोन नम्बरमा फोन गर्नुपर्ने छ ।

आन्तरिक हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि: ९८४१०७०६२३ / ९८४१२८१२७०
अन्तर्राष्ट्रिय तर्फका हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि:
९८०३०५३३५१ / ९८०३१४६१२२ / ९८६००१५५१३

अफिस सम्पर्कका लागि: ०१४४९९१५९/०१४४७४०१४