रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा

एजेन्सी । युुभेन्टस्का स्टार पोर्चुगिज विंगर क्रिष्ट्रियानो रोनाल्डो पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने चर्चा चलेको धेरै भयो । फुटबलसम्बन्धी वेवसाइट टुट्टोस्पोर्टका अनुसार अहिले रोनाल्डोले युभेन्टस् छाड्ने विषयमा सोचिरहेका छन् । र, पिएसजीसँगै पूर्व क्लब म्यानचेस्टर युनाइटेड उनको आगामी गन्तव्य बन्नसक्छ ।

च्याम्पियन्स लिगमा छनोट हुन युुभेन्टस् असफल भएमा रोनाल्डोले यस्तो निर्णय लिनसक्ने समाचारमा उल्लेख छ । इटालियन सिरिएमा शीर्ष चारको दौड निकै प्रतिस्पर्धात्मक देखिएको छ । उपाधि दौडमा इन्टर मिलान अन्य सबै क्लबभन्दा अघि छ । उसले ७९ अंक बटुलिसकेको छ । यता, अन्तिम ५ खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको एटलान्टाको ६८ अंक छ भने नापोली, युभेन्टस् र एसी मिलानको समान ६६ अंक छ । त्यस्तै, छैटौं स्थानको लाजियोको ६१ अंक छ ।

प्रतिस्पर्धा उच्च भएकाले सानो गल्तीले पनि च्याम्पियन्स लिग खेल्नबाट कुनै पनि क्लब वन्चित हुनसक्ने अवस्था छ । २००३ मा च्याम्पियन्स लिगमा डेब्यु गरेयता रोनाल्डोको प्रदर्शन निकै उत्कृष्ट रहँदै आएको छ । त्यसयता, आयोजित च्याम्पियन्स लिगका हरेक संस्करणमा सहभागिता जनाएका रोनाल्डोले यस अवधिमा ५ पटक उपाधि नै जितिसकेका छन् । रोनाल्डो च्याम्पियन्स लिगका अहिलेसम्मकै सर्वकालीन गोलकर्ता हुन् । उनले १ सय ३४ गोल गरिसकेका छन् ।