अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण
मुम्बई । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।
उनी २०१५ मा इन्डोनेसियाको बालीमा गिरफ्तार भएर भारत सुपुर्दगी भएदेखि नै तिहाड जेलमा छन् । मुम्बईमा उनीविरुद्धका मुद्दा सीबीआईमा स्थानान्तरित गरेर मुद्दा चलाउन विशेष अदालत गठन गरिएको छ ।
नायिका हिना खान कोरोना संक्रमित
त्यस्तै आफ्नो पिता गुमाएको ६ दिनपछि भारतीय टेलिभिजन तथा बलिउड नायिका हिना खान कोरोना संक्रमित भएकी छन् । सामाजिक सञ्जालमा आफू संक्रमित भएको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अपिल गरेकी छन् । ६ दिनअघि हृदयघातबाट पिताको निधन भएपछि उनी हतारहतार मुम्बई फर्किएकी थिइन् ।