बालुवाटारमा एमालेको र बुढानिलकण्ठमा काङग्रेसको बैठकहरु जारी
काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यका अनुसार अध्यक्ष ओलीले आज बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बैठक बोलाएका हुन् ।
माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएको उनको भनाइ छ।बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।
बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रमुख प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज (आइतबार) दिउँसो बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उपनिर्वाचनका मिति तय गरिएको छ ।
आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । नेकपा एमालेले बादललाई नै उम्मेद्वार बनाउने भएपछि काँग्रेसले बादलसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलसँग छलफल गरेर उम्मेदवार तय गर्नेछ ।
वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदाता रहेको उपचुनावमा काँग्रेस उम्मेदवार निर्वाचन हुन एमालेका माधव नेपाल पक्षको भूमिका निर्णायक छ । सत्तारुढ दल एमाले पार्टीभित्रको विवादका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिई क्रस भोटिङ गर्न सक्ने चर्चा पनि चलिरहेको छ । यस्तै पार्टीका शीर्षस्थ नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने जनाइएको छ ।