यस्तो छ भारतको पछिल्लो कोरोना भाइरसको अवस्था

एजेन्सी । भारतमा शनिबार झण्डै साढे तीन लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक रुपमा संक्रमित हुनेको संख्या लगातार चौथो दिनसम्म तीन लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या २ लाख १७ हजार ११३ रहेको छ । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या लगातार पाचौं दिनसम्म २ हजारभन्दा बढी नाघेको छ । बितेको २४ घण्टामा २ हजार ७६७ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

शनिबार महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ६७ हजार १६० नयाँ संक्रमित थपिएको र ६७६ जनाको मृत्यु भएको छ । त्यसपछि उत्तर प्रदेश, कर्नाटक, केरला र दिल्लीमा धेरै संक्रमित छन् । नयाँ संक्रमितमध्ये ५३ प्रतिशत मानिस यी पाँच राज्यमा रहेका छन् । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३८ हजार ५५ नयाँ संक्रमित थपिएको र २२३ जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा २४ हजार १०३ जना नयाँ संक्रमित थपिएको र ३५७ जनाको मृत्यु भएको छ ।

कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै दैनिक संक्रमितको संख्या दिनदिनै बढेपछि भारत महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक बन्न पुगेको छ । विश्वमै सबैभन्दा धेरै दैनिक संक्रमितको संख्या भएको मुलुकमा अमेरिकालाई उछिन्दै भारत पहिलो स्थानमा पुगेको छ । भारतमा पछिल्लो ३ दिनमा मात्रै १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको र ७ हजार ५ सयको ज्यान गएको छ ।

विश्वभरको आंकडा हेर्ने हो भने शुक्रबार अमेरिका र भारतमा बाहेक अन्य कुनै मुलुकमा पनि दैनिक संक्रमितको संख्या ५० हजारभन्दा बढी थपिएको थिएन । शुक्रबार भारतमा ३ लाख ४६ हजार र अमेरिकामा ६३ हजार २०६ नयाँ संक्रमित थपिएका थिए ।