माधव नेपाललाई थप संकटः ओलीतिरै लागे बिष्टसहित प्रतिनिधिसभाका आठ सांसद

काठमाडौं । नेकपा एमालेलाई तहस नहस पार्ने निलम्बित नेता माधवकुमार नेपालको योजना असफल बन्दै गएको छ । माधव नेपाललाई साथ दिँदै आएका खास नेताहरु नै धमाधम पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिन थालेका छन् । नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका सचिव गोकर्ण बिष्टसहित आठ जना प्रतिनिधिसभा सदस्य ओली पक्षमा उभिने अठोट गरेका छन् । पार्टी बिभाजनमा नलाग्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा उभिने निर्णय लिएपछि माधव नेपाल थप कमजोर बन्दै गएका हुन् ।

स्रोतका अनुसार नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित पूर्वमन्त्री गोकर्ण बिष्टसहितका सांसदहरु माधवको साथमा नरहने निश्कर्षमा पुगेका हुन् । बिगतमा माधवतिर लागेपनि अव एमालेमै रहने प्रतिवद्धता जनाउँदै बिष्टसहित आठ प्रतिनिधिसभा सदस्य संस्थापनमा फर्किएका हुन् । सोही कारण आठै जनालाई एमालेले स्पष्टिकरण नसोधेको स्रोतको भनाई छ । प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३४ जना थिए । कृष्णभक्त पोखरेल, गोपाल बम, गंगा चौधरी सतगौंवा र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा थिए । नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षलाई उभिइसकेका छन् । आजसम्म आइपुग्दा नेपालको पक्षमा केवल २७ सांसद मात्रै छन् । उनीहरुमध्ये पनि धेरैजसो बिभाजनमा गए साथ छाडने अडानमा रहेको बुझिन्छ ।

नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढाले ओली पक्षमै रहने भएका हुन् । सोही कारण तीनै जनालाई स्पष्टीकरण नमागिएको एक बताइन्छ । एक नेताका अनुसार बिष्टसहित तीनै जना सांसदले प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि स्पष्टीकरण नमागिएको हो । अव नेपालको पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा चार जना संस्थापनकै साथमा उभिने बताइएको छ । समानुपातिक सांसद बिना बुढाथोकी मगर, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई संस्थापनमै रहने जानकारी दिएपछि स्पष्टीकरण सोधिएको छैन । पार्टीको पक्षमा उभिने अवस्थामा उनीहरूलाई उचित जिम्मेवारी दिइने जानकारी अध्यक्ष ओलीले गराइसकेका छन् ।

बिभाजनको पक्षमा नलागी पार्टीको नीतिमा उभिने जोकोही नेता कार्यकर्तालाई बिगतको भुमिकाको आधारमा कुनै पूर्वाग्रह नराख्ने अध्यक्ष ओलीले बताइसेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकमै यस्तो बताएपछि माधव पक्षका थुप्रै नेता कार्यकर्ता पार्टीमै दृढताका साथ उभिने निश्कर्षमा पुगेको स्रोतको भनाई छ ।