पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित, जेठसम्ममा दैनिक ११ हजार संक्रमित थपिने प्रक्षेपण
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा प्रदेश १ मा १०१ जना, २ मा ८४, वाग्मतीमा सबैभन्दा धेरै ८३५, गण्डकीमा २७, लुम्बीनीमा ५४१ कर्णलीमा १७ र सुदूरपश्चिम प्रदेशमा ६२, जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार १०२ पुगेको ।
त्यस्तै २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर क्वारेन्टिनमा ८२ जना छन् भने सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठसम्ममा ११ हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको छ । यहि क्रममा संक्रमणदर बढ्दै गए दैनिक ११ हजार संक्रमित पुग्ने मन्त्रालयले जनाएको छ ।
मंगलबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर उच्च हुँदै गएको जानकारी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलका अनुसार दैनिक ११ हजार संक्रमित थपिएमा करिब ८० प्रतिशत संक्रमित अस्पताल भर्ना गर्न नपर्ने, १५ प्रतिशत दैनिक भर्ना गर्नु पर्ने तथा अक्सिजन आवश्यक पर्ने बिरामी हुन सक्ने छ । त्यस्तै तीमध्ये ३ देखि ५ प्रतिशतलाई आइसियू सेवा आवश्यक पर्ने छ । दैनिक ११ हजार व्यक्तिमा कोरोना संक्रमण देखिए दैनिक ५ सय जना आइसियू भर्ना गर्नु पर्ने डा. पौडेलले बताए । त्यस्तै असारसम्म कोरोना संक्रमितको सख्या ६ लाख पुग्नसक्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गर्न मन्त्रालयले सबैलाई आग्रहको छ ।