संसदको सामना गर्न नसकेपछि हठातमा अधिवेशन अन्त्य, सभामुख सापकाेटासँग छलफल गरिएन

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा सम्मान दिन सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसदको सामना गर्न नसकेकोले हठातमा अधिवेशन अन्त्य गरेको बताए । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छिन् ।

नेता सिंहले असंवैधानिक रुपमा संसद विघटन गरेका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसदलाई सामना गर्न नसकेको बताए । संसदलाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उनले बताए । राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताए ।

चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्याण्डेट प्राप्त भए पनि कम्युुनिष्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने बताए । उनले पारदर्शी चुनाव गराउनका लागि पनि कांग्रेस नेतृत्वको सरकार चाहिने बताए । सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दलहरुलाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैले ठाउँठाउँमा सभा र भेला गर्दै हिँडेको पनि बताए ।

संसद अधिवेशन अन्त्यबारे मसँग कुनै छलफल भएन: सभामुख सापकाेटा

काठमाडौँ । संसदको हिउँदे अधिवेशन अन्त्यबारे आफूसँग कुनै छलफल नभएको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि लागु हुने गरि अन्त्य गरेकी छन् । तर सभामुख सापकोटाले भने आफूसँग अधिवेशन अन्त्यबारे प्रधानमन्त्रीले कुनै पनि छलफल नगरेको बताएका हुन् ।

बजेट अधिवेशन पनि भनिने संसदको यो अधिवेशनमा विधायकी कामै नभई सकिएको हो । सभामुख र प्रधानमन्त्रीबिचको विवादका कारण फागुन ११ गतेको सर्वोच्चको फैसलाबाट पुनर्स्थापित संसदको फागुन २३ गतेदेखिको बैठक बिजनेश बिहीन बनेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ६ गते (आज) दिउँसो १ बजेदेखि संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषद्को सिफारिशबमोजिम अधिवेशन अन्त्य गरिएको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई पठाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर राष्ट्रपति भण्डारीले पठाएको पत्रमा भनिएको छ– ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/१/६ को सिफारिशमा प्रतिनिधि सभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमवारका दिन अपराह्न १ बजेदेखि अन्त्य गरेको छु ।’