गृहमन्त्री थापाले पुन सपथ लिए
काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिनु भएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री थापाले सपथ लिनुभएको हो । संविधानको धारा ८० बमोजिम मन्त्री थापाले पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो ।
राष्ट्रियसभा सदस्य पद गुमे सँगै उहाँ मन्त्री पदबाट स्वतः पदमुक्त भएको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै गृह मन्त्री पदमा पुनः नियुक्ति गर्नुभएको हो । पदमुक्त हुनुभएका गृहमन्त्री थापाको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचित हुनु भएको उहाँ राष्ट्रियसभा सदस्यको पद रिक्त भएसँगै ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ मा रिक्त स्थानमा ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । ऐन २०७५ को दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ ।’
बादल बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो । २०७५ असार ४ गते भएको गोलाप्रथामार्फत् उहाँले आफ्नो पदावधि छ वर्षका लागि कायम गराउनुभएको थियो । तर, उहाँको सांसद पद आइतबारदेखि सकिएको छ । नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेमा लागेपछि उहाँको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आइतबार विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।