राजकुमार फिलिपको महाप्रस्थान
लण्डन । प्रिन्स फिलिप बेलायती राजपरिवारका अहिलेसम्मका सबैभन्दा बढी बाँच्ने शाही सदस्य भएर सय वर्ष पुग्न मात्र दुई महिना बाँकी छँदा (अप्रिल ९ मा) शान्तिपूर्वक आफ्नो नश्वर चोला त्याग गरे । यतिखेर बेलायत मात्र नभएर सिंगो विश्व बेलायती राजदरबारमा भएको यो अपूरणीय क्षतिको समवेदनामा सहभागी भएको छ। विश्वका मिडिया, पत्रपत्रिका प्रिन्स फिलिपका रोमाञ्चक जीवनीले रंगिएका छन् ।
महारानी एलिजाबेथसँग ७२ वर्ष सुखद वैवाहिक जीवनमा बलियो सारथि बनेर रहेका डुक अफ एडिनब्रा बेलायती राजपरिवारका एक सम्मानित धरोहर थिए । सय वर्षअघि उनका अगाडि पछाडि खासै कोही थिएनन् । उनको जन्म सन् १९२१ को जुन १० तारिखका दिन ग्रिसको कोर्फु द्विपमा भएको थियो। ग्रिक राजकुमार एन्ड्र्यु र राजकुमारी एलिसको कान्छो सन्तान थिए फिलिप। उनी मात्र एक वर्षको हुँदा सन् १९२२ मा ठूलो क्रान्ति भयो। सत्तापलटसँगै क्रान्तिकारीले राजतन्त्र हटाए ।
फिलिपले ७३ वर्षसम्म महारानीको दुई कदम पछि रहेर जीवनका हरेक उकाली ओरालीमा एउटा बलियो संरक्षण दिए । बेलायती राजतन्त्रलाई विश्वसामु अटल राख्न पर्दा पछाडिको भूमिकामा जुटिरहे ।
अदालतले उनका पितालाई देश निकाला गरिदियो । त्यसपछि आफ्ना आफन्तसँगै बेलायतीको सहयोगमा भागेर इटाली आए सबै परिवार । फिलिप आठ वर्षको हुँदा उनकी आमा एलिसले मानसिक सन्तुलन गुमाइन् र पागलखानामा बन्द गरियो। त्यसलगत्तै बाबुले अर्की श्रीमती बिहे गरेर फ्रान्सतिर भागे । आमाका बेलायती नातेदारले फिलिपलाई बेलायत ल्याएर स्कटल्यान्डको बोर्डिङ स्कुल गोर्डनस्टनमा भर्ना गरिदिए। दुःखद् बाल्यकाल भोगेको एउटा विदेशी केटोले तिनै बेलायती नातेदारको ‘थर’लाई अपनाएर ‘माउन्टबेटन’मा रूपान्तरित भए, उनको पैतृक थर बेटन्बर्ग थियो । त्यसपछि फ्रान्स हुँदै उनको परिवार बेलायतमा आएको थियो। त्यतिखेर विश्व दोस्रो विश्वयुद्धको त्रासदिमा थियो। युवा फिलिप पनि युद्धमा सहयोग गर्ने मनसायले रोयल नेभीमा भर्ना भए ।
एलिजाबेथसँगको प्रेम
सन् १९३९ देखि एलिजाबेथ फिलिपको प्रेममा पागल भइन्, त्यतिखेर उनी मात्र १३ वर्षकी थिइन् । डर्टमाउथको रोयल नेभल कलेजको परिसरमा दुवैको पहिलो देखभेट भएको थियो। उनले सैनिक तालिममा कलेज ‘टप’ गरे । त्यसकारण उनलाई तत्कालीन ब्रिटिस राजकुमारी एलिजाबेथ र मार्गरेटको सुरक्षा ड्युटी दिइयो। राजकुमारी एलिजाबेथ र फिलिपले एक अर्कालाई मन पराउन थाले । फिलिप २१ वर्षमै ‘ब्रिटिस नेभी’को सबभन्दा कान्छो लेफ्टिनेन्टको रूपमा दोस्रो विश्वयुद्धको लडाइँमा भाग लिन गइसकेका थिए, तर प्रेमिका राजकुमारीसँग नियमित सम्पर्क भइरहन्थ्यो । अहिले जस्तो सम्पर्क गर्ने माध्यम नभए पनि यो बेलासम्म ब्रिटिस दरबारलाई खासै थाहा थिएन, यो गोप्य प्रेम कहानी । एक दिन राजकुमारीका अंगरक्षकले ‘फिलीप’को आर्मी ड्रेसको फोटो राजकुमारीको बेड रूममा फेला पारेपछि राजदरबारमा हंगामा मच्चियो । तर राजकुमार र राजकुमारी आफ्नो सच्चा प्रेममा दृढ थिए ।
दोस्रो विश्वयुद्ध जितेर फर्केपछि ‘फिलिप’ ले राजकुमारी एलिजाबेथ द्वितीयकी आमा यानी तत्कालीन महारानी एलिजाबेथ प्रथमलाई चिठी लेखेर छोरीको हात मागे ! पारिवारिक छिन्नभिन्न भई टुक्रिएको, खासै उल्लेखनीय पढाइ नभएको कुरा चले फिलिपका विरुद्ध । उनी युरोपका राजघराना भए पनि उनको परिवारलाई निर्वासनमा खेदिएको थियो । उनी कतै पनि आधिकारिकता नभएका नाम मात्रका राजकुमार थिए । तथापि छोरीको प्रेमलाई हार्दिक रूपमा स्विकार्दै अन्त्यमा रानी एलिजाबेथ प्रथम र राजा जर्ज’ ले आफ्नी छोरी राजकुमारी ‘एलिजाबेथ द्वितीय’ को विवाह फिलिपसँग गराइदिए । २६ वर्षीय फिलिप र २१ वर्षीया एलिजाबेथको सन् १९४७ मा राजकीय सम्मानका साथ विवाह भयो। यसरी विदेशी भूमिमा निर्वासित एउटा टुहुरो केटो बेलायतको राजघरानासँग जोडियो ।
फिलिपले ७३ वर्षसम्म महारानीको दुई कदम पछि रहेर जीवनका हरेक उकाली ओरालीमा एउटा बलियो संरक्षण दिए । बेलायती राजतन्त्रलाई विश्वसामु अटल राख्न पर्दा पछाडिको भूमिकामा जुटिरहे । रानी एलिजाबेथ र राजकुमार फिलिप जोडीका चार छोराछोरी, आठ नातिनातिना र १० पनातिपनातिनी छन् ।
वातावरण र पुरातात्विक संरक्षणमा चासो
‘तपाईंको देश लोपोन्मुख प्रजातिहरूको व्यापारको सबैभन्दा कुख्यात केन्द्रमध्ये एक हो,’ सन् १९९१ मा थाइल्यान्डमा संरक्षण पुरस्कार स्विकार्दा उनले आफ्ना पीडित पाहुनालाई भनेका थिए ।
‘के तपाईं अझै पनि एकअर्कामा भाला फाल्नुहुन्छ ?’ सन् २००२ मा रानीसँग अस्ट्रेलियाको भ्रमणमा आदिवासी एल्डरहरूलाई सोधिएको थियो । उनले आफैँ र महारानी समेत गरेर एक सय ४४ भन्दा बढी देशको भ्रमण गरे ।
आफूलाई रानीको संवैधानिक क्षेत्रमा नघुसाउनेमा फिलिप दृढ थिए। यसको सट्टा करिब आठ सयभन्दा बढी च्यारिटीको संरक्षक भएर उनी सक्रिय रहे । उनको वातावरणीय पर्यावरणीय संरक्षणको चाहना सधैँ स्तुत्य रह्यो विश्वभरि।
सन् २०१७ मा ९५ वर्षको उमेरमा फिलिपले क्रियाशील शाही भूमिकाबाट अवकाश लिने घोषणा गरे । स्यान्ड्रिङ्घम हाउसमा उनले धेरै किताब पढेका थिए र पानीरंगका पेन्टसँग खेलेका थिए ।
प्रिन्स फिलिपले जीवनभर महारानीको दुई कदमपछि रहेर बेलायती राजतन्त्रलाई सम्मानित बनाउने काम गरिरहे । कमन वेल्थ कन्ट्रीदेखि धेरै वातावरण पर्यावरणसम्बन्धी च्यारिटीका संरक्षक भएर काम गरिरहे ।
नेपाल–बेलायत शाही सम्बन्ध
नेपाल र बेलायतबीचको सम्बन्ध दक्षिण एसियाकै पुरानो र सुदृढ कूटनीतिक सम्बन्ध हो । जसको सुरुवात सन् १९०६ माघमा नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवरले पहिलो बेलायत भ्रमण गरेदेखि सुरु भएको पाइन्छ । त्यही भ्रमण नै नेपाल–बेलायतको कूटनीतिक निकटताको उच्च कडी रही आएको देखिन्छ। नेपालले सन् १९३४ मा लन्डनमा दूतावास स्थापना गरेको हो । नेपालको शिक्षा, स्वास्थ्य र विकासमा बेलायतको निरन्तर सहयोग रहेको पाइन्छ । बेलायती महारानी एलिजावेथ द्वितीया सन् १९६१ मा उनले चितवनको जंगलमा बाघ र गैँडाको सिकार गरेकी थिइन्, राजकुमार फिलिपसहित हात्तीमा सवार भएर ।
अर्कोपटक तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा सहभागी हुन सन् १९७५ मा युवराज चाल्र्स नेपालमा आएका थिए । उनी सन् १९८० र १९९८ मा पनि नेपाल आए । उनले नेपालको विभिन्न जिल्ला घुम्दै बेलायती सहयोगका निर्माण भएका परियोजनाको अवलोकन गरे। सन् १९९३ मा राजकुमारी डायनाले पाँचदिने नेपाल भ्रमण गरेकी थिइन्। सन् २०१५ मा भूकम्प गएका बेला प्रिन्स ह्यारीले नेपालको भ्रमण गरेका थिए । यसरी दुई देशबीच सौहार्दपूर्ण सम्बन्धको विकास भएको पाइन्छ। केही समयअघि दुवै देश विश्वका राजतन्त्रात्मक मुलुक भएका नाताले पनि दुई देशका शाही परिवारका बीच मित्रवत सम्बन्ध कायम थियो। राजा वीरेन्द्र र दीपेन्द्रले लन्डनकै इटन कलेजमा पढेका थिए ।
यो पंक्तिकार महारानीको समर दरबार नजिकै बस्छ सपरिवार। कहिले सामान्य ट्रेनमा लन्डनबाट आउँदा होस्, कहिले ससानो च्यारिटीका काममा पनि सामान्य मानिसझैँ झुल्किँदा होस्, धेरैपटक महारानीलाई देख्ने सौभाग्य मिलेको छ । एकपटक मेरी छोरी कान्छी प्रेमाले एम्बुलेन्स पाइलट राजकुमार विलियमलाई उनको स्कुलको चौरमा एउटा इमर्जेन्सी रेस्क्युमा रोकिने क्रममा भेटिन्, सबै साथीहरूसँग। बेलुका त्यो भेटको तस्बिर देखाउदै भनिन्, ‘आज मलाई प्रिन्स विलियमले तिमी को हौ भनेर सोधे ।’ यी सबै उदाहरण हाम्रा लागि प्रेरणा बन्नुपर्छ। जनतामा भिज्न, दिलमा सजिन र सम्मानित हुन मात्र एउटा असल कर्म गरे हुन्छ। तडकभडक, रातो कार्पेट र पिर्के सलामीले हामीलाई अन्ततः जनताबाट टाढा पुर्याउनेछ ।