भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार
भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।
११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन। अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख छ। अप्रिल १ मा संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो । एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए ।
बिहीबार भारतक १४ राज्य र केन्द्र प्रशासित क्षेत्रमा कोरोनाको संक्रमण बढेको छ । संक्रमण बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढ्न थालेको छ। बिहीबार भारतभर १ हजार १ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। १० दिनअघि भारतमा कोरोनाबाट हुने दैनिक मृत्यु ५ सयभन्दा तल थियो ।
भारतमा अहिलेसम्म १ करोड ४२ लाख मानिसमा संक्रमण भएको छ भने १ लाख ७४ हजारले ज्यान गुमाएका छन् ।
भारतमा नयाँ रेकर्ड : एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु
भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख १६ हजार ८५० संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यसअघि हिजो भारतमा १ लाख ९९ हजार ५६९ संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ । आज विहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।
संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् । विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।