एकै घरका तीन दिदीबिहिनी सगरमाथा आरोहणमा जाँदै, सञ्चारमन्त्रीले दिए शुभकामना

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दोलखाका एकै घरका तीन दिदीबहिनी जाँदैछन् । भोलि सगरमाथा आरोहणका लागि जान लागेका तीन दिदीबहिनीलाई सञ्चना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले शुभकामनासहित विदाई गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्लो शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोली’लाई विदाई गरिएको हो ।

गौरीशंकर गाउँपालिका–९ निवासी एकै परिवारका दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पालाई मन्त्री गुरुङले नेपालको झण्डा दिँदै खादा लगाएर शुभकामना दिए । उनले भने, ‘तपाईँहरुको नयाँ रेकर्ड कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझै उचो बनाउने यस अभियानमा म सरकारको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछुु । बैशाख ३ गते सगरमाथा प्रस्थान गरी अभियान सुरु गर्नुअघि मलाई विदाई गर्ने अवसर प्रदान गर्नु भएकोमा आरोहण टोलीप्रति आभार व्यक्त गर्दछु ।’ आरोहणको नेतृत्व भने कान्छी बहिनी दावाफुटीले गर्दैछन् । उनी २४ वर्षकी भइन् । उनले यसअघि आमादव्लम हिमाल आरोहण गरिसेकी छन् ।

दावाफुटीको साथमा माइली दिदी ३० वर्षीया निमा जाङ्बु र साइली दिदी छिरिङ जानेछिन् । यो टोलीमा २०१८ मा सगरमाथा, कञ्चनजंघा र ल्होत्से हिमाल चढ्ने निमा हुन् । उनले २५ दिनमा तीनै हिमाल आरोहण गरेका थिए । कञ्चनजंघा हिमाल आरोहण गर्ने निमा पहिलो महिला पनि हुन् ।उनीहरुले २०२३ सम्ममा सातै महादेशका अग्ला हिमालहरु आरोहण गर्ने लक्ष्य राखेका छन् । यो २०२१ मा अफ्रिकाका किलिमञ्जरो, युरोपको एलब्रस र साउथ अमेरिकाका आकांकागवा आरोहण गर्ने लक्ष्य राखेका छन् । त्यस्तै, २०२२ मा नर्थ अमेरिकाका माउन्टेनाली र अष्ट्रेलियाका कार्सानपिरामिड र २०२३ मा अन्टार्टिकाका माउन्ट विन्सान आरोहणको लक्ष्यका साथ सगरमाथा आरोहण गर्न लागेका हुन् ।