ताकेता गरे पनि नहटाएपछि पुरानाे बसपार्क छेउका एक सय १२ पसल सिलबन्दी

काठमाडौं । लामो समयदेखि बिनासम्झौता सञ्चालनमा रहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएका सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौं महानगरपालिकाले बिहीबार सिलबन्दी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै आज सिलबन्दी गरिएको बताए । ‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौं।’

महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्नेले २०७६ चैतसम्म व्यवसायी संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वास्ता नगरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए । उनीहरुले महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दासमेत कुनै प्रस्ताव पेस नभएको पनि जानकारी दिए । नगरप्रहरी प्रमुख धनपति सापकोटाले पनि उनीहरुलाई पटक–पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको बताए ।पसल सिल गर्ने क्रममा व्यापारीले बिनासूचना हटाएको भन्दै होहल्ला गरेका थिए। प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई समातेको थियो ।