लण्डनस्थित म्यानमारको दूतावासमा सैन्य सहचरीको नियन्त्रण, राजदूतलाई प्रवेश निषेध
लण्डन । लण्डनस्थित म्यानमारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् । राजदूत क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन् । सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी देशको प्रतिनिधि रहेनौ’ भनेको राजदूत मिनले बताएका छन् । उनले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘मलाई कार्यलय प्रवेश गर्न दिइएन, बाहिरै राखियो ।’
म्यानमारमा सेनाले १ फेब्रुअरीमा देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन् । मीनले सेनाले नियन्त्रणमा लिएकी नेत्री आङ सान सूचीको रिहाइको माग गरेका थिए । राजदूत मिनलाई बुधबार लण्डनस्थित दूतावासमा प्रवेश गर्न नदिइएको हो । उनले सो घटनालाई ‘मध्य लण्डनमा भएको म्यानमार सत्ताको कू’ का रुपमा हेरेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । उनले यस्तो खालको कू हुन नदिने पनि बताएका छन् । राजदूत मिन लण्डनको मेफेयर स्थित दूतावासको बाहिर स्थानीय महानगर प्रहरीका अधिकारीसँग बोल्दै गरेको देखिन्छ तस्बिरहरुमा ।
म्यानमारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिन आयोजना गरिएका प्रदर्शनहरूमा पाँच सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनको क्रममा म्यानमारमा पाँच सय भन्दा धेरै मानिसको ज्यान गएको छ र त्यसमा दर्जनौँ बालबालिका पनि छन् ।