आँखा पोल्ने समस्याले नागरिक हैरान : प्रदूषणले फेरि ढाक्यो काठमाडौँको आकाश

काठमाडौँ । देशभरि वायु प्रदूषण बढेको छ । धुँवा र धुलो मिसिएको हावाले काठमाडाैंकाे वायुमण्डल ढपक्कै भएको छ । वायु प्रदूषणले फेरि काठमाडौँको आकाश ढाकेको छ । उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थालेका छन् । उपत्यकाका तीनै जिल्लामा बाक्लो तुवाँलो लागेको छ भने मौसम बदली हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार उपत्यकासहित कर्णाली र सुदुरपश्चिमको मौसम बदली हुनेछ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले वायु प्रदूषणका कारण मौसम बदली हुने भएपनि तत्काल यो समस्या नहट्ने बताएको छ । मौसमविद राजु प्रधानाङ्गले अझै एक हप्तासम्म तुँवालो हट्ने सम्भावना कम रहेको उनले बताए । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले नेपालको आकाशमा तुवाँलो लागेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदुषण केही घटे पनि सोमबार (आज) फेरि बढेको हो ।

विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

वायु प्रदूषणका कारण बाहिर हिड्दा आँखा पोल्ने, श्वासप्रश्वास गर्न गाह्रो हुने जस्ता समस्याले नागरिक हैरान भएका छन् । विज्ञहरुले भने प्रदूषणको बेला सकेसम्म घरमै बस्न सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञको सुझाव छ । यदि निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न विज्ञको सुझाव रहेको छ ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।