एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने

दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने जनाएको छ । सोमबार वक्तव्य जारी गरेर कम्पनीका अरु ब्राण्डमा ध्यान केन्द्रित गर्दै घाटामा गइरहेको मोबाइल विभाग बन्द गर्ने निर्णय गरिएको जनाएको हो । मोबाइल बजारबाट पूर्ण रुपमा बाहिरिने एलजी पहिलो स्मार्टफोन ब्राण्ड हो ।

एलजीको मोबाइल विभाग विगत ६ वर्षदेखि लगातार घाटामा रहँदै आएको छ । यो अवधिमा स्मार्टफोनका कारण एलजीलाई करिब चार अर्ब ५० करोड अमेरिकी डलर बराबरको घाटा भएको छ । विद्युतीय सवारी साधानका साधान, कनेक्टेड डिभाइस र स्मार्ट होम्सका उत्पादनमा ध्यान केन्द्रित गरिने एलजीले जनाएको छ । अल्ट्रा–वाइड एंगल क्यामरासहितका मोबाइल फोनमा प्रारम्भीक चरणमा राम्रो प्रयोगात्मक सफलता हाँसिल गर्न सफल एलजी सन् २०१३ मा सामसुङ र एप्पल पछाडि विश्वको तेस्रो ठूलो स्मार्टफोन उत्पादक थियो । तर पछिल्ला वर्षहरुमा एलजीका फोनहरुमा सफ्टवेयर तथा हार्डवेयरमा समस्या देखिएसँगै बजारमा तल गएको छ ।

गएको वर्ष एलजीका दुई करोड ३० लाख फोन बजारमा गएका थिए । सामसुङको भने २५ करोड ६० लाख फोन बजारमा गएका थिए ।