ह्‍वात्तै बढ्यो कोरोना सन्क्रमण, जेठ-असारमा उच्च बिन्दुमा पुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । नेपालमा कोरोना संक्रमण कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ । यस्तै सोमबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अनुसार ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएकोमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ ।

जेठ-असारमा उच्च बिन्दुमा पुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ-असारमा कोरोनाको दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारसम्ममा अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताउनुभएको हो ।

पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा झरेको बताउनुभयो । मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारतमा संक्रमित बढ्दै गएकाले आवागमनलाई व्यवस्थित गरेर क्वारेन्टिन र आइसोलेसनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्यो

काठमाडौं उपत्यका कोरोना संक्रमित दर बढ्न थालेको छ । एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशैभर २ सय ६६ संक्रमित भेटिएका काठमाडौं उपत्यकामा मात्र १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । 

काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।