ताइवान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
एजेन्सी । ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त रेलका इन्जिनियर, सबइन्जिनिर, प्रान्सका नागरिकसहित, ४९ ताइवानका नागरिकको ज्यान गएको ताइवानन्युजले जनाएको छ । घटनामा अन्य १४६ जना घाइते भएका छन् । उनीहरूको उपचार जारी रहेको समाचारमा जनाइएको छ ।
सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा भएको हो जहाँ रेलले एक ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएको थियो । स्थानीय मिडियाका अनुसार घटनास्थलमा उद्धारकार्य जारी छ । ताइवानको केन्द्रीय प्रकोप व्यवस्थापन टोलीले सुरुङ भित्र चारवटा रेल कोच भएको जसमा अहिले पनि करिब २ सय मानिसहरु फसेका छन् । यी चारैवटा रेल कोच यो दुर्घटनामा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो ट्रेन ताइवानको राजधानी ताइपेदेखि ताइतुंग शहर जाँदै थियो । यो ट्रेनमा सवार अधिकांस यात्री ताइवानको लोकप्रिय ‘टम्ब स्विपिङ फेस्टिबल’ मनाउन जाँदै थिए ।
स्थानीय मिडिया रिपोर्टका अनुसार मेन्टेनेन्सको काममा लागेको एउटा ट्रक रेलवे लीकमा आएपछि यो दुर्घटना भएको हो । स्थानीय समयअनुसार शुक्रबार बिहान करिब साढे नौ बजे सो दुर्घटना भएको हो । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरी रहेको अधिकारीहरूले बताएका छन् ।