८ दिनपछि उपत्यकाको फोहर उठाइने तर माग पुरा हुनेमा सिसडोलबासी भने विश्वस्त छैनन

काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो । लामो समयको अवरोधपछि आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उनीहरु सहमत भएका हुन् ।

प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए । स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गरे । धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे । छलफलमा सहभागी ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईँले आफूहरुको माग पूरा भएपछि फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए ।

“प्रभावित क्षेत्रका ५१ शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउनेलगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,” बजगाईँले भने, “अब आजैबाट फोहोर उठ्छ ।” विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुँदै आएको छ । सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको भए पनि निर्माण कार्य पूरा नहुँदा पटकपटक समस्या आइरहेको छ ।

काठमाडौँ महानगरपालिकाले माग पूरा गर्नेमा सिसडोलबासी छैनन् विश्वस्त

काठमाडौं । काठमाडौँबाट निस्कने फोहोरमैला विसर्जनमा अवरोध गरेपछि भएको नुवाकोट ओखरपौवास्थित सिसडोलबासी र काठमाडौँ महानागरपालिका बीचको वार्ता सहमतिमा टुंगिएको छ । महानगरपालिकाले नुवाकोट ओखरपौवास्थित सिसडोलबासीको माग पूरा गर्ने र सिसडोलबासीले फोहोर फाल्न दिने सहमति भएपछि वार्ता सहमतिमा टुंगिएको हो । आन्दोलनरत पक्ष र महानगरबीच सहमति भएपनि महानगरले गरेको प्रतिबद्धता कार्यान्वयवन हुनेमा भने स्थानीय अझै विश्वस्त हुन सकेका छैनन् ।

नुवाकोटको ओखरपौवास्थित सिसडोलका स्थानीय काठमाडौं उपत्यकाबाट लगिने फोहोरमैला लैजान अवरोध गर्दै चैत १३ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीयबीच बुधवार र विहिवार भएको वार्ता निस्कर्षविहिन बनेको थियो । महानगरले स्थानीयसँग भएको सहमति अनुरुपको प्रतिबद्धता पुरा गर्ने बताएर वार्ता सफल बनेपनि स्थानीय भने आश्वस्त हुन सकेका छैन । पटक पटक आन्दोलन र सहमति भएपनि आफुहरुको माग पुरा गर्ने विषयमा काठमाडौँ महानगरपालिकाले जहिल्यै झुक्काउने स्थानीयको गुनासो छ ।

काठमाडौँ महानगरपालिकासँग मात्रै होइन, सिसडोलीबासी आफ्नै जनप्रतिनिधिसँग पनि आक्रोशित छन् । आफ्ना जनप्रतिििनधिहरु फोहोरका कारण स्थानीयले भोग्दै आएको समस्या समाधानका बारेमा सधैँ मौन रहने गरेको स्थानीय आरोप लगाउँछन् । उपत्यकाबाट ल्याइने फोहोरकै कारण स्थानीयको स्वास्थ्यमा पनि गम्भिर समस्या देखिएको र गाउँको वातावरण नै प्रदुषित भएकाले बस्नै नसक्ने अवस्था भएको स्थानीयबासीले गुनासो गरे ।

काठमाडौँ महानगरपालिकाले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौताहरु गरेको थियो । तर सिसडोलबासीसँग गरिएका यी मागहरु पुरा नभएपछि समय समयमा उनीहरु आन्दोलन गर्दै फोहोर विसर्जन्मा अवरोध गर्दै आएका छन् ।

शुक्रवार महानगरले आफुले गरेका प्रतिबद्धता पुरा गर्ने सहमति जनाएपनि सिसडोलबासी भने विश्वस्त हुन सकेका छैनन् ।