कांग्रेस केन्द्रीय समिति बैठक : ओलीको राजीनामा माग्ने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न नमानिरहेको अवस्थामा केन्द्रीय समिति बैठकले सरकारको नेतृत्व काँग्रेस अघि बढ्नु पर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

अर्को काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अब पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको कुरा बताए । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बैठकले निर्णय गरेकाे छ । नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ ।’

नेपाली काँग्रेसले ओलीइतर समीकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्ने देखिन्छ । यस्तै सर्वोच्चले फागुन २३ मा नेकपा विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्रले ओलीको विकल्प खोज्नुपर्ने भन्दै काँग्रेस र जसपासँग सत्ता सहकार्यको प्रस्ताव गर्दै आएको छ । तर, जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्चले उल्ट्याइ दिएपछि उनीमाथि राजीनामा दिन नैतिक दवाव पर्दै आएको छ । तर, उनले राजीनामा नदिने बरु संसदको फेस गर्ने बताउँदै आएका छन् ।