पत्रकार महासंघको चुनावमा दुवै प्यानलको उम्मेद्वारी घोषणा (सुचीसहित)

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागी दुवै प्यानलले आधिकारिक उम्मेद्वारी घोषणा गरेका छन् । लोकतान्त्रिक प्यानलमा विपुल पोखरेलको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धन छ । लोकतान्त्रिक-प्रगतिशिल-समावेशी नाम दिइएको प्यानलको अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल लगायत आधिकारिक उम्मेद्वार छ । बुधबार पत्रकार सम्मेलन गरेर यो प्यानलले उम्मेद्वारी घोषणा गरेको हो ।

यस्तै निर्मला शर्माको नेतृत्वमा रहेको प्रगतिशिल-समावेशी प्यानलले पनि उम्मेद्वारी घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस चौतारीको समूह यो प्यानलको उम्मेद्वार देखिएका छन् । मंगलबार नै पत्रकार सम्मेलन गरेको यो प्यानलले अध्यक्षमा पहिलोपटक महासंघको नेतृत्वमा महिलालाई ल्याउनुपर्ने भन्दै निर्मला शर्मालाई अघि सारेको छ । शर्मा सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल छन् । यस्तै महासचिवमा बालकृष्ण बस्नेत र कोषाध्यक्षमा कृष्ण गिरी छन् । अध्यक्षका लागि गजेन्द्र बुढाथोकी र रामप्रसाद दाहाल पनि चुनावी मैदानमा छन् ।

अन्य पदमा पनि स्वतन्त्र उम्मेद्वारी दिनेको सूची लामै छ । दुवै प्यानलका साथै स्वतन्त्र उम्मेद्वारले पनि चुनाव जित्नका लागि प्रचार प्रसारलाई तिब्रता दिएका छन् । महासंघको नयाँ नेतृत्वका लागि फागुन २५ गते चुनाव हुँदैछ ।