एमाले खनाल-नेपाल पक्षले कास्कीमा बनायो समानान्तर जिल्ला कमिटी, रवीन्द्रका सहपाठी बने अध्यक्ष

पोखरा । नेकपा एमाले (माधव नेपाल-झलनाथ खनाल) पक्षले कास्कीमा पार्टीको समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेता नेपाल र गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा धनराज आचार्यको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको नेपालपक्षीय नेता चूडामणि जंगलीले जानकारी दिए । कार्यसमितिका अन्य पदाधिकारी पछि बिस्तार गरिने जनाइएको छ ।

धनराज पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीका सहपाठी एवं रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । रवीन्द्रपत्नी विद्या भट्टराई प्रतिनिधि सभाको उपचुनावमा उम्मेदवार बन्दा आचार्य उनको चुनावी कमाण्डर थिए । सांसद भट्टराई भने अहिले ओली पक्षमा खुलेकी छन् ।

नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा कृष्ण थापा छन् । कास्कीमा जिल्ला कमिटीदेखि सबै जनप्रतिनिधिहरु संस्थापन पक्षमा छन् । ७५ सदस्यीय जिल्ला कमिटीको सचिवमा होमबहादुर नेपाली चयन भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल पक्षले जिल्ला तहमा पहिलोपटक समानान्तर कमिटी गठन गरेको हो ।

एमालेबाट ६ महिनाका लागि निलम्बित भएपछि पाण्डेसँग पहिलोपटक पोखरा पुगेका हुन् ।