घनश्याम भुषालले पनि स्पष्टिकरण पठाए, उल्टै ओलीलाइ पार्टी विभाजनको आरोप (पूरा पत्र सहित)
काठमाडौ । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पनि पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । उनले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ पठाएका हुन् । ३ दिन भित्र लिखित जवाफ दिन भनिएको भएपनि भुषालले मंगलवार पत्रको जवाफ पठाएका हुन् । ओलीले चित्तबुझ्दो जवाफ नपठाएको र उल्टै आरोप लगाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यता समेत नहरने गरी निलम्बन गरेका छन् । उनले भुषालको जवाफ नेपाल र रावलको जस्तो नआउने आशा गरेको बताएका थिए । तर भुषालले पनि ओलीलाई आरोप लगाउँदै जवाफ पठाएका छन् ।
भुषालले पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै पत्रमा लेखेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’ ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । भुसाल र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।
मंलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत (नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रिया) को संज्ञा दिएका छन् । मंगलबार आफूमाथि ओलीले सोधेको स्पष्टीकरणको ११ पृष्ठको लिखित जवाफ पठाउँदै भुसालले ओलीलाई नक्कली प्रक्रिया र प्रमाणका आधारमा कङ्गारु अदालत चलाउने प्रयासमा लागेको बताएका छन्। ‘तपाईँले मागेका तथाकथित स्पष्टीकरणसहित लिखित जवाफले तपाइँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ,’ भुसालको जवाफमा लेखिएको छ।
पत्रमा उनले अध्यक्ष ओलीले नै कसरी पार्टीको वैधानिक व्यवस्थाको उल्लंघन गरे भन्ने पनि उल्लेख गरेका छन् । केन्द्रीय कमिटीको बैठकको सूचना र कार्यसूची तीन दिन अगाडि नै केन्द्रीय सदस्यलाई दिनुपर्ने भएपनि त्यसो नगरिएको उनले बताएका छन् । यद्यपि संसदीय दलको बैठकमा ओलीले कसैलाई खबर पठाएको दाबी गरेको भन्दै उनले भनेका छन्, ‘तपाईको दाबी शतप्रतिशत झूठो हो । तपाईंको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन ।’
‘मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँच कार्यदल गठन गरौं र नेपाल टेलिकमबाट तथ्यहरु मागौं । उक्त मेसेज कुन–कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको खोजी गरौं, तपाईले झूटो बोल्नु भएको प्रमाणित भइहाल्छ ।’ ओलीले यस्तो झूट पटकपटक बोलेको उनले बताएका छन् ।